OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७७ सुर्खेत
३७० पटक

 २१ असार २०७७, आईतबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टिनहरुको विकल्प खोज्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा हिँजो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि विद्यालय क्वारेन्टिनमा प्रयोग भईरहँदा बालबालिकाको पठनपाठनमा बाधा हुने कुरालाई मध्यनजर गर्दै ती क्वारेन्टिनको विकल्प खोज्न थालिएको कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

“बैठकले भारत, तेस्रो मुलुकलगायत अन्य जिल्लाबाट मानिसहरु आउने क्रम केही कमी भएतापनि हालसम्म नरोकिएको र कोरोनाको संक्रमणसमेत नियन्त्रणमा आउन नसकेकोले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ,” उहाँले भन्नुभयो, मूलतः “सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनहरुलाई पालिकास्तरमा एकीकृतरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिईएको छ ।”
लामो समयसम्म कोभिड–१९ का कारण विद्यालय बन्द रही बालबालिकाको पठनपाठनमा बाधा परेको र क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको संख्यामा क्रमश घट्दो क्रम रहेकोले सम्भव भएसम्म अन्य भवनको प्रयोग गरी विद्यालयबाट क्वारेन्टिन हटाई पठनपाठन सहज हुने वातावरण मिलाउदै जाने निर्णय गरिएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार सुर्खेतका आधारभूत विद्यालयदेखि विश्वविद्यालय गरेर १७५ शैक्षिक संस्थाहरुमा क्वारेन्टिन सञ्चालन भएका छन् । भारतबाट आएका यो जिल्लाका १४ हजार ८१९ मा उक्त शैक्षिक संंस्थाहरुमा सञ्चालन गरिएका क्वारेन्टिनहरुमा १२ हजार ८७० नागरिकहरु बसेका छन् । क्वारेन्टिन् सञ्चालनले विद्यालयमा आगामी दिनमा पर्ने असरबारे पनि अध्ययन गर्ने जनाईएको छ ।

त्यस्तै, विपद् व्यवस्थापनअन्र्तगत विभिन्न कलष्टरको नेतृत्व गर्ने कार्यालय, संघसंस्थाहरुले हुन सक्ने विपद्लाई मध्यनजर गरी आवश्यकता अनुसार नियमित समन्वय र सम्पर्कको माध्यमबाट तयारी अवस्थामा रहने निर्णय गरिएको उहाँले बताउनुभयो । हाल नेपालमा देखिएको सलहको प्रकोपबाट सुर्खेतसमेत प्रभावित भएकोले यहाँको कृषि बाली नष्ट हुनबाट बचाउने कार्यलाई पनि अघि बढाईने उहाँको भनाई छ ।

उहाँले अगाडि भन्नुभयो, “सलहको झुण्डहरु कुन दिशाबाट आएको, कति संख्यामा रहेको साथै कुन दिशातर्फ जाँदैछन् भन्ने कुराको विषयमा स्थानीय तहमा रहेका कृषि शाखामार्फत जानकारी लिई नियन्त्रणका उपाय अपनाई सो को दैनिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने विधिहरु बारे जनचेतना अभिवृद्धि गर्ने, यस वर्षको मनसुनले पार्ने प्रभावलाई मध्यनजर गरी सबै स्थानीय तहले खोज उद्धारका सामाग्री, भारी यन्त्र उपकरण आदिको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको छ ।

 

प्रतिकृया दिनुहोस्