OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १५, २०७७
९१९ पटक

१५ असार २०७७ सोमबार

पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँ जसो दर्जनौं संक्रमितहरु निको भएर घर जान थालेका छन् ।

जेठ १० गते यता दिन दुई गुणा रात चौगुणाले भारतबाट आएका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकहरुमा आतंक फैलिएको थियो । असार १३ गते यता कोरोना संक्रमित हुने भन्दा जितेर घर फर्कनेहरुको संख्या ह्वात्तै बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणमा आज रुकुपश्चिमका एक जनामा कोरोना संक्रमण पुष्टि भएपनि आजै यो प्रदेशका विभिन्न आइसोलेसन सेन्टरबाट ४५ संक्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनरायण तिवारीले जानकारी दिनुभयो । निको हुनेहरुमा ४१ पुरुष र चार महिला रहेको उहाँले बताउनुभयो ।

आज दैलेख अस्पतालको आइसोलेसनबाट १७, सालकोट आइसोलेसन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेसन दैलखबाट छ र लेकबेसी आइसोलेसन सुर्खेतबाट दुइ जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामाथि विजय गर्नेको संख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा.तिवारीले जनाउनुभयो ।

“अहिलेसम्म कोरोना संक्रमण देखिएका सबै व्यक्तिहरुको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन” उहाँले भन्नुभयो, “संक्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा छन् ।” उहाँका अनुसार प्रदेश सरकारले संक्रमितहरुलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने काम समेत गरेको छ भने प्रदेश आयुर्वेद औषाधलयले १० जिल्लाका संक्रमितहरुलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ ।

अब कर्णालीमा ४२६ जना कोरोना संक्रमित मात्र निको हुन बाँकी रहेका छन् । कुल संक्रमित संख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको आवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्