OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कृषि कर्ममा नियमित लाग्न मन्त्री केसीको अपिल

कर्णालीमा ३९ प्रतिशत धान रोपाईं

कोरपाटी संवाददाताआषाढ १५, २०७७सुर्खेत
७८९ पटक

१५ असार २०७७, सोमबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भोकमरीको संभावित जोखिमबाट बच्न कृषि कर्म नियमित राख्न सबैमा अपिल गर्नुभएको छ ।

आज १७औं राष्ट्रिय धान दिवसका अवसरमा किसान तथा सम्पूर्ण नेपाली एवं कर्णालीवासीमा शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री केसीले कोभिड–१९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने बताउनुभयो । कृषि सम्बन्धी सम्पूर्ण गतिविधिहरु आवश्यक सतर्कता अपनाई नियमित राख्न उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।
‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ यसलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भ रुपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा आज मुलुकभर उच्च सावधानीका साथै मनाईदै गरेको १७औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७७ ले कर्णालीको धान संस्कृति जगेर्नामा विशेष अवसर प्रदान गरेको जनाउँदै मन्त्री केसीले यसमा हातेमालो गरेर बढ्न अनुरोध गर्नुभएको छ ।

किसानका लागी यो समय भनेको मानो रोपेर मुरी फलाउने समय भएकोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही, भौतिक दूरी कायम गर्दै धान दिवस तथा रोपाई महोत्सवमा सहभागी हुन र नेपाल सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला हुन वा २५ भन्दा बढि भएमा न्यूनतम निर्देशित दूरी (६ फिट) कायम गरी स–साना उपसमुहमा रहेर रोपाइ महोत्सव मनाउन उहाँले सुझाउनुभएको छ ।

आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी धान खेतीका लागि प्रवद्र्धनका प्रयाससमेत भइरहेको र धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको उहाँले सन्देशमार्फत जानकारी दिनुभएको छ ।

कर्णालीमा ३९ प्रतिशत धान रोपाईं

शुभकामना सन्देशमार्फत् कृषिमन्त्री केसीले कर्णाली प्रदेशमा हालसम्म ३९ प्रतिशत धान रोपाईं भएको भएको जानकारी दिनुभएको छ ।
कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४२५ हेक्टर मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइ सकिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार सबै भन्दा धेरै डोल्पा जिल्लामा २७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा २ हजार ८०० हेक्टर क्षेत्रफल मध्ये ९७ प्रतिशत अर्थात २ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ ।

रोग र भोक विरुद्ध साझा ढंगले लड्न सक्ने उर्जा पैदा भई बाँझो जमिन सदुपयोग गरी खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न आह्वान गर्दै उहाँले १७आँै राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव, २०७७ अवसरमा सम्पूर्ण कर्णालीवासी कृषक दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्