OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३२, २०७७ सुर्खेत
८१८ पटक

३२ जेठ २०७७, आईतबार

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोएिको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली आजको दिनसम्म आईपुग्दा ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना संक्रमणको ‘इपिसेन्टर’ बनेको छ ।

जेठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना संक्रमण देखिएयता यो संक्रमण अंकगणितीय अनुपातमा बढिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोना संक्रमितको कूल संख्या ९६७ पुगेको छ । २१ दिनमा ९६७ जनामा फैलिएको कोरोना संक्रमण औसतमा दैनिक ४६ जना संक्रमित भएको पाईन्छ । त्यसमा दैलेखमा मात्र ५३८ जना कूल संक्रमित संख्याको (५६%) मा यो रोगको संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख तिवारीका अनुसार सुर्खेतमा २१२, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पामा एक जनामा कोरोना पुष्टि भएको छ । रुकुमपश्चिम बाहेक कर्णालीका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यसबाट कर्णालीमा डोल्पा, दैलेख र सुर्खेतका तीन जनाको ज्यान गएको छ । यो संक्रमणबाट सबैभन्दा बढी प्रभावित दैलेखमा दिनहुँ ३०–५० को संख्यामा संक्रमित थपिने गरेको उहाँले बताउनुभयो

भारतबाट शनिबारसम्म ४२ हजार ४३२ नागरिक कर्णाली भित्रिएका छन् । त्यसमा १४ हजार १८ नागरिक दैलेखका मात्रै भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतका ११ हजार ५३०, कालीकोटका पाँच हजार १५८, जाजरकोटका तीन हजार ७७१, सल्यानका तीन हजार २८२, रुकुमपश्चिमका एक ६४३, मुगुका एक हजार ३९७, जुम्लाका एक हजार ३५७ र हुम्लाका २७५ नागरिकले कर्णाली प्रवेश गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख भित्रिने नागरिकहरुको अत्यधिक चाप र नमूना स्वाब संकलन गरी पठाएकाहरुको आरटी पिसिआर रिपोर्ट निकै ढिलो आएका कारण दैलेखमा तीव्ररुपमा संक्रमण फैलिएको बताउनुभयो । पछिल्लो समयमा संघ, प्रदेश र स्थानीय सरकारहरु पनि दैलेखको समस्यामा केन्द्रित भएर लागेको प्रमुख जिल्ला अधिकारी कट्टेलको भनाई छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी (भण्डारी)ले प्रदेश सरकारबाट दैलेखका लागि स्वास्थ्य जनशक्ति, स्वास्थ्य सुरक्षा सामग्री थप गरिएको बताउनुभयो । “कर्णाली भरिका जिल्लाहरु मध्य दैलेखमा नै स्वास्थ्य सेवा केन्द्रित गरिएका छ,” निर्देशक जोशीले भन्नुभयो, “अब त्यहाँ जतिसक्दो चाँडौं आरटी मेसिन सञ्चालनमा ल्याउने तयारी पनि भईरहेको छ ।”

दैलख क्षेत्र १ (क) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले भारतबाट आउने कर्णालीका नागरिकहरुको एकिन र त्यही अनुसारको व्यवस्थापनको पूर्व तयारी गर्न नसक्दा यो प्रदेशमा अनपेक्षितरुपमा संक्रमण फैलिएको बताउनुभयो । “नागरिकहरु भारतबाट आउने क्रम रोकिएको छैन,” सदस्य रेग्मीले भन्नुभयो, “यो व्यवस्थापनमा सरकार गम्भीर भएर लाग्नुपर्दछ, अन्यथा त्यसले विकराल रुप लिन सक्छ ।”

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार आज पनि दैलेखमा ३७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा तीनजना बाहेक सबै भारतबाट आएका व्यक्तिहरुमा मात्र कोरोना संक्रमण भएको पाईएको छ । यसरी दैनिक संक्रमितहरुको संख्या वृद्धि हुँदै जाँदा प्रदेश तथा स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रण ल्याउन निकै सकस हुँदै गएको छ ।

यता कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना सम्पर्क व्यक्ति डा.के.एन पौडलले अधिकांश संक्रमतिहरुमा कोरोना संक्रमण नेदखिएको बताउनुभयो । उच्च मनोबल राख्न, खानपिन, सरसफाई र व्यायाममा ध्यान दिन सके कोरोनालाई जो सुकैले सजिलै जित्न सक्ने भन्दै सम्पर्क व्यक्ति डा.पौडेलले यसबाट कसैलाई नआत्तिन सुझाउनुभयो ।

प्रतिकृया दिनुहोस्