OnlinePana

आज : २०८३ आषाढ ३२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०८३काठमाडौं
६४ पटक

११ असार २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक २०८३ अन्तरगत आर्थिक वर्ष २०८३÷०८४ को लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरुमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको चौधौं बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरुमाथि छलफल सुरु भएको जानकारी दिनुभयो । कर्णाली प्रदेश विनियोजन विधेयक २०८३, अन्तरगत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरुमाथि आज भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजनाहरु प्राथमिकतामा नपरेको धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य ईन्दिरा शाहीले वैज्ञानिक भूउपयोग नीतिलाई कार्यान्वयनमा लैजानुपर्ने विषयलाई सरकारलाई सुझाउँदै परम्परागत, निर्वाहमुखी अवस्थाबाट कृषिलाई आजको आवश्यक प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गर्नुभयो । बजेट विनियोजन भएपनि कार्यान्वयनको अभावले आवश्यक पूर्वाधारका संररचना बन्न नसकेको उहाँको भनाई थियो ।

प्र्रदेशसभा सदस्य रनसिंह परियारले बजेटले पशुपालन, दुग्ध विकास, उत्पादन र उत्पादकत्व बढाउने सकरात्मक कार्यक्रम ल्याएको बताउनुभयो । यद्यपि बिगतका कार्यक्रमको निरन्तरता भएको टिप्पणी गर्दै उहाँले ठोस योजना ल्याएर युवाहरुलाई कृषितर्फ आकर्षण गर्ने कार्यक्रम लागु गर्न सरकारलाई अनुरोध गर्नुभयो । त्यस्तै, सदस्य कलबहादुर हमालले रैथानेबाली, बगैंचा व्यवस्थापन, उद्यमशीलता, युवा स्वरोजगारलगायतका कार्यक्रमहरु आएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा सरकारको प्रमुख जोड हुनुपर्ने धारणा राख्नुभयो ।

भोलि १२ गते भौतिक पूर्वाधार तथा सहरी विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय, १३ गते सामाजिक विकास तथा जलस्रोत तथा उर्जा विकास मन्त्रालय, १४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश योजना आयोग र मुख्यन्यायधिवक्ताको कार्यालयका शीर्षकहरुमाथि छलफल हुने सभामुख गुरुङले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्