OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७७ सुर्खेत
८६७ पटक

२९ जेठ २०७७, बिहीबार

नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं सुर्खेतबाट प्रकाशित हुने कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गौतमको नाम जोडेर विभिन्न अनलाइनमा प्रकाशित समाचारप्रति महासंघको गंभीर ध्यानाकर्षण भएको जनाईएको छ ।

महासंघ, केन्द्र, कर्णाली प्रदेश र सुर्खेत जिल्ला शाखाले एकैपकट ध्यानाकर्षण गराएका हुन् । आज जारी गरिएको महासंघको प्रेस विज्ञप्तिमार्फत् भनिएको छः “पूर्वकोषाध्यक्ष गौतम सम्बद्ध पत्रिकाको अनलाइन संस्करणमा ‘सभामुखको लागि नियमविपरीत गाडी खरिद’ सँग सम्बन्धित समाचारको विषयलाई लिएर कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको निर्देशनमा व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशित भएका छन् । जनप्रतिनिधिमूलक संस्थाको प्रमुखजस्तो पदमा बसेको पदाधिकारीबाट त्यस्तो हुनु विडम्बना हो । यसबाट आगामी दिनमा स्वतन्त्र रुपमा समाचार प्रकाशन र प्रसारण गर्न पत्रकार र सञ्चार माध्यमलाई हतोत्साही गर्ने निश्चित छ ।”

त्यस्तै, महासंघले प्रेस स्वतन्त्रता र पत्रकारिताका मूल्य, मान्यताप्रति प्रतिवद्ध हुन सम्बन्धित पक्षलाई सचेत गराउँदै गाडी खरिदको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको सञ्चार माध्यमबाट सार्वजनिक भइसकेको सन्दर्भमा यसको वास्तविकता आधिकारिक निकायबाटै परीक्षण हुनेमा विश्वस्त रहेको र कुनै पनि सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारको विषयमा सम्बन्धित सञ्चार माध्यममै खण्डन हुने पत्रकारिताको विश्वव्यापी परम्परा र पत्रकार आचारसंहितालाई ख्याल नगरी अन्य सञ्चार माध्यममा समाचारको खण्डन हुनु दुःखद पक्ष भएको बताएको छ । यसबाट पत्रकारिताका आधारभूत सिद्धान्त र मर्यादालाई दूरगामी रुपमा असर पार्ने भन्दै सम्बन्धित सञ्चार माध्यमलाई यस्ता कार्य नगर्न र आफ्ना गल्ती सच्याउन महासंघले अपिल गरेको छ ।

यसैगरी, समाचारको विषयलाई लिएर कैलाली जिल्लामा कार्यरत पत्रकार टंकप्रसाद कडेललाई घाडाघोडी नगरपालिका –१ का स्थानीय व्यापारी होमप्रसाद आचार्यले फोनबाट धम्क्याएको घटनाप्रति पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको । महासंघ कैलाली शाखाका अनुसार घाडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रमको विषयलाई लिएर प्रकाशन र प्रसारण भएको दुई वटा समाचार शीर्षकलाई लिएर पत्रकार कडेललाई जेठ २७ राति फोन गरी व्यापारी आचार्यले समाचार किन लेखेको भनी अपशब्द प्रगोग गर्दै धम्क्याउनुले प्रेस जगतमाथि नाङ्गो हस्तक्षेप भएको र समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसको कानुनी उपचार खोजिनुको साटो यस किसिमले धम्क्याउनु प्रेस विरोधी काम भएको औंल्याईएको छ । पत्रकारलाई दिइएको धम्कीको भत्र्सना गर्दै धम्की दिनेलाई कानुनी कारबाही गर्न तथा पत्रकारको सुरक्षा र यस्ता घटना नियन्त्रणमा गम्भीर हुन स्थानीय प्रशासनसँग महासंघले माग गरेको छ ।

त्यस्तै सोही दिन महासंघ स्याङ्जा शाखाका सदस्य तथा नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार भूपराज बस्यालाई गल्याङ्का स्वास्थ्य शाखा प्रमुखले गरेको आत्महत्याको विषयमा उहाँ आवद्ध पत्रिकामा प्रकाशित समाचारलाई लिएर स्थानीय प्रशासनले प्रहरीमार्फत जिल्ला प्रशासन कार्यालय उपस्थित गराई सोधपुछ गरेको घटनाप्रति पनि महासंघको ध्यानाकर्षण भएको जनाईएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई हतोत्साहित बनाउने गरी सोधपुछ गरिनु निन्दनीय काम भएको टिप्पणी गर्दै महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस्