OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २९, २०७७ सुर्खेत
८१४ पटक

२९ जेठ २०७७ बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले कोरोना संक्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टकृत अस्पतालमा पठाउन निर्देशन गर्नुभएको हो । प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टकृत अस्पतालका रुपमा तोकेको छ ।

उहाँले सामान्य संक्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका संक्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्नेगरी व्यवस्थापन गर्न सुझाउनुभयो । हरेक स्थानीय तहले ५०, जिल्लामा १०० वेड आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बताउनुभएका मुख्यमन्त्री शाहीले कोरोना संक्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने जनाउनुभयो ।

आरटी पिसिआर परीक्षणको दायरा बढाउने जनाउँदै उहाँले कोरोना महामारीले निम्त्याएको विषम् परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहनुभएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिनुभएको थियो । सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाई सुनिश्चित विजय हुने उहाँको भनाई थियो ।

मुख्यमन्त्री शाहीले ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलबारे प्रमुख जिल्ला अधिकारी चन्द्रपसाद गैरेबाट जानकारी लिनुभएको थियो । बैठकमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, जिसस तथा त्यहाँस्थित स्थानीय तहका प्रमुख, कालीकोट जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री शाही बुधबार कालीकोट लालीघाट टिपर दुर्घटनाका घाईतेलाई हेलिकोप्टर लिएर उद्धार गर्नुभएको जानुभएको थियो ।

प्रतिकृया दिनुहोस्