OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७७ सुर्खेत
६४७ पटक

२७ जेठ २०७७, मंगलबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष (रेक्टर) सह–प्राध्यापक डा.निरेश थापाले समाजमा सहि सूचना सम्प्रेषण गर्न शिक्षक र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षण संगठन कर्णाली प्रदेश (आसिटी विभाग) द्वारा आयोजित ‘भर्चुअल पाँच दिवसीय सूचना तथा प्रविधि तालिम’मा आज शिक्षकहरुलाई प्रशिक्षण दिँदै शिक्षाध्यक्ष स.प्राडा.थापाले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत फैलिएको बताउनुभयो ।

‘कोभिड–१९’ को परिचय, नेपालमा यो महामारीको अवस्था र यस विरुद्धको लडाईमा शिक्षकको भूमिका’ शीर्षकमा प्रस्तुति राख्नुभएका उहाँले छोटो समयमा नेपालमा कोरोनको तीव्र संक्रमण देखिएकोले समाजमा यसको रोकथाम तथा नियन्त्रणका लागि सहि सूचना प्रवाह गर्नु पहिलो आवश्यकता रहेको औंल्याउनुभयो ।

“कोरोना रोग हो । यो फैलिन्छ । तर यसलाई रोकथाम तथा नियन्त्रण गर्न सहि सूचना प्रवाह गर्नुपर्छ,” शिक्षाध्यक्ष प्राडा.थापाले भन्नुभयो, “शिक्षकमार्फत हजारौं बालबालिका र पत्रकारहरुमार्फत सिंगो समाज तथा देशले सूचना पाउने भएकोले सहि सूचना सम्प्रेषणमा यहाँहरुको भूमिका महत्वपूर्ण छ ।” कोरोना भन्दा रुघाखोकी र कमजोरी मनस्थितिले समाजमा मृत्यु हुने नागरिकको संख्या बढ्दै गएकोप्रति चिन्ता प्रकट गर्दै उहाँले यसमा शिक्षक तथा प्रेसजगत्लाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “कोरोनाले नेपालमा १४ जनाको मृत्यु भएको छ तर बन्दाबन्दी भएयता नेपाल प्रहरीको केन्द्रीय तथ्याङ्क अनुसार आजको दिनसम्म १४९ बालबालिकासहित एक हजार २२७ जनाले आत्महत्या गरिसकेका छन् । कोरोनाको डर र बन्दाबन्दीले निम्त्याएको बेरोजगारी तथा त्यसबाट परेको आर्थिक संकटको चापले डिप्रेशनमा परेकालाई बेलैमा दिईने सहि सन्देश र सूचनाले यस्तो घटनाहरुमा कमि आउने उहाँको भनाई थियो ।

उक्त तालिममा प्रशिक्षक माधव महराले ‘कोभिड–१९’ ले अस्तव्यस्त बनेको शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा लैजान सूचना र प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने र त्यसमा शिक्षकको भूमिका व्यापक हुनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षक महराले बालबालिकालाई गुगल कक्षामा कसरी जोड्ने, कक्षा कोड, डाटा एवं डकुमेन्टहरु गुगल ड्राइभ तथा कम्प्यूटरमा कसरी संलग्न गर्ने, युट्युब तथा भिडियो लिङ्क जोड्ने, अनलाईन हाजिर हुने, गृह कार्य गर्ने र हेर्नेलगायतका सूचना तथा प्रविधिसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी, संगठनका कर्णाली प्रदेश उपाध्यक्ष तथा आईसिटी विभाग संयोजक रामबहादुर रावलले सूचना र प्रविधि (आईसिटी) तालिमद्वारा डिजिटल साक्षर अभियानलाई विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । ‘कोभिड–१९’ बाट उत्पन्न विषम् परिस्थितिको चुनौतिसँग सामना गर्दै समय अनुसार रुपान्तरण भएर शिक्षणका विकल्प सृजना गर्ने हेतुले अघि बढ्नका लागि सबै शिक्षकहरुलाई पाँच दिवसीय आईसिटी तालिममा जोडिन उहाँले आग्रह गर्नुभयो । उक्त तालिमममा महासचिव निमबहादुर केसी देवकोटा, कर्णाली प्रदेशका अध्यक्ष रेश्मीलाल चपाईंलगायत प्रदेश समितिका पदाधिकारी, सदस्य तथा शिक्षकहरु गरी ६७ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्