OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २०, २०७७
११६६ पटक

२० जेठ २०७७, मंगलबार

चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उहाँको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गर्नुभयो ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उहाँको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्