प्रदर्शनकारी आज दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए । अहिले आगो दनदन दन्किरहेको छ । सिंहदरबारको छानोसम्मै आगो फैलिएको छ ।
सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका मुख्य–मुख्य कार्यालय र विभागहरु थिए । त्यहाँका फर्निचरसहित महत्वपूर्ण कागजपत्रहरु जलेका छन् ।
सिंहदरबार क्षेत्र क्षेत्रभित्रको गृह मन्त्रालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
विगतमा सिंहदरबारका चारवटै गेटमा सुरक्षाकर्मीको कडा तैनाथी हुने गरे पनि आज खासै सुरक्षाकर्मीहरु थिएनन् । थोरै संख्याका सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई रोकेनन् । युवाहरुको हुल सजिलै सिंहदरबार प्रवेश गरेको थियो । त्यसपछि युवाहरुले आगो जलाएका थिए ।
नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अहिले पूर्णरुपमा आगोमा जलेको छ ।
सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।