

१९ जेठ २०८२, सोमबार
सुर्खेतः ‘टी.बी स्मृति प्रथम यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ दोस्रो दिन पाहुना टोली सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।
सुर्खेत वीरेन्द्रनगरस्थित कालुङचोक खेल मैदानमा सोमबारदेखि सुरु भएको उक्त प्रतियोगितामा आज सुदूरपश्चिसँग भएको खेलमा कर्णालीका कप्तान बिपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि कर्णालीले पहिलो जीत निकालेको हो । ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो । कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राख्नुभयो ।
चार ओभर अलिङ गर्नुभएका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल हुनुभयो । दशौं ओभरमा बलिङ गर्न आएका उहाँले एक रन मात्रै खर्चिनुभयो । बाह्रौं ओभरमा एक रन दिएर एक विकेट लिनुभएका उहाँले चौधौं ओभरमा मेर्डनसहित एक विकेट लिँदा सोह्रौंं ओभरमा मेर्डनसहित तीन विकेट लिनुभयो ।
सुदूरपश्चिमका ओपनर बिक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाउनुभयो । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । कर्णालीका कप्तान विपिनले पाँच विकेट लिदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पार्नुभयो ।
जवाफी व्याटिङ थालेको कर्णालीले १८.३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाउँदा नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान नौ रन बनाउनुभयो । नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्काले चार रन बनाउनुभयो भने कैलाश खड्का र रोशन शाहीले समान एक–एक रन बनाउनुभएको थियो ।
कर्णालीसँगको खेलमा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चि कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।