OnlinePana

आज : २०८२ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १६, २०८२
७ पटक
१५ जेठ १५, बिहीबार
सुर्खेतः संघ सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कर्णालीका जलविद्युत, पर्यटन र सडकमा बजेट बिनियोजन गरेको छ । पुराना योजनाहरुमा बजेट थप गरेर कामको निरन्तरता दिएको पाइएको छ ।
संघ सरकारले आज ल्याएको बजेटमा विद्युत समस्याको दीर्घकालीन समाधान गर्न कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत् समस्या हल गर्नेगरी काम गरिने बताउनुभयो ।
संघीय सरकारले आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई तीव्रता दिने दाबी गरेको छ । जसमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने गरी रु.दुई अर्ब सात करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, कर्णाली कोरिडोरका लागि रु.एक अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।  उहाँका अनुसार आगामी आर्थिक वर्ष २०८२÷०८३ मा मुगुको ताल्चा विमानस्थलदेखि रारासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ ।
संघीय सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि रु.५४ करोड बजेट व्यवस्थापन गरेको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो । सो प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ६० करोड विनियोजन गरिएको थियो । जुम्लामा हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण कार्यलाई सरकारले निरन्तरता दिने भएको छ ।
अर्थमन्त्री पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै सुर्खेतको भेरी पम्पिङ खोनेपानी आयोजना आगामी दुई वर्षमा सम्पन्न गर्न रु.एक अर्ब ३२ करोड रकम विनियोजन गरिएको जनाउनुभयो । निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरुको विकास गरिनेछ । लुम्बिनीको बर्दियादेखि कर्णालीको रारासम्म पदयात्रा सञ्चालन गर्नुका साथै रारा पर्या–पर्यटन पदमार्ग विकास गरिने बताइएको छ ।
कर्णालीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास गरिनेछ । पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षकस्थलहरुमा पर्यटन पूर्वाधारको विकासमा जोड दिदै कर्णाली, भेरी प्रमुख नदीहरुमा ¥याफ्टिङलगायत पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । सुर्खेतमा प्रदेशिक  विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्यको थालनी गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
प्रत्येक प्रदेशमा एक–एक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा स्तरोन्नति गरिनेछ । साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले सीप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार सुविधाको उपयोग गर्न सक्ने व्यवस्था हुने अर्थमन्त्री पौडेलले बताउनुभयो । सातै प्रदेशमा मुटु तथा क्यान्सर रोगको उपचार विस्तार हुने बताएको छ । सबै प्रदेशका एक÷एक वटा सरकारी अस्पतालमा विशिष्टीकृत जलन उपचार विभाग सञ्चालनमा ल्याउने बजेट भाषणमार्फत जानकारी गराइएको छ ।
नलगाड, फुकोट कर्णाली, उत्तरगंगा र मुगु कर्णाली लगायतका आयोजनाहरुका लागि लगानी ढाँचा निर्धारण गरी निर्माण कार्य आरम्भ गरिने भएको छ । नदी कटान, डुवान तथा पहिरोको जोखिम व्यवस्थापन गर्न कर्णाली नदीमा नदी नियन्त्रण कार्यक्रम सञ्चालन हुने भएको छ । आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्च खण्डको सड़क स्तरोन्नति गरिने भएको छ । कर्णाली कोरिडोरको लागि रु.एक अर्ब २७ करोड बजेट व्यवस्था गरिएको छ ।
कर्णाली राजमार्गअन्तरगत सुर्खेत–खुलालु–कालीकोट–जुम्ला सडक र सुर्खेत–महाबुलेक–नाग्मा–गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो । ताल्चा–रारा सडक कालोपत्रे गर्न बजेट बिनियोजन गरिएको छ । रणनीतिक तथा व्यापारिक महत्वका भेरी कोरिडोर सडकको स्तरोन्नति गरिने भएको छ । बबई छिन्चुमा सुरुङ मार्ग निर्माण गर्नका लागि स्रोत व्यवस्थापन र अन्य तयारी गर्ने बताएको छ । संघ सरकारले कर्णाली प्रदेशमा विनियोजन गरेको अधिकांश बजेट शीर्षकहरु पुराना योजनाहरु रहेका छन् । आगामी आव.का लागि नयाँ योजना समेटिएको देखिदैन ।
प्रतिकृया दिनुहोस्