

१५ जेठ २०८२, बिहीबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित १८औं गणतन्त्र दिवस २०८२ को समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास र रक्षा गर्नु हामी सबैको साझा सरोकार र कर्तव्य भएको बताउनुभयो ।
“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता प्रदान गरिने र शासन सत्ताको बागडोर सम्हाल्ने प्रणालीको अन्त्य गरी हरेक नागरिक समानता हुन पाउने हक र अधिकार प्राप्त ऐतिहासिक दिन हो, गणतन्त्र,” उहाँले भन्नुभयो, “महिला व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख भइसकेको अवस्था हो । यही हो संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाको सुन्दरता ।” आफै दास हुन्छु भनेर दासको लाइनमा लाग्नेलाई भन्नु केही छैन भन्ने धारणा राख्दै उहाँले आफ्नो स्वाभिमानलाई विस्थापित गरेर बिगत फर्काउने पक्षमा परिवर्तनकारीहरु कोही नरहेको बताउनुभयो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गणतान्त्रिक व्यवस्थाले हरेक नागरिकको जीवनस्तर माथि उठेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बिगतमा हप्तौं, महिनौं समय लगाएर पुग्ने गन्तव्यको हाम्रो यात्रा आज घण्टामा छोटिएको छ । गणतन्त्रको स्थापना पछि कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायतका विभिन्न क्षेत्रमा धेरै विकास भएको बताउँदै नेता शाहीले हरेक सरकार प्रमुखहरुसँग नागरिकले भेटी खुलेरै समस्या राख्न सक्ने व्यवस्था बिगत भन्दा कैयन् गुणामाथि भएको दावी गर्नुभयो ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले महिला, दलित, पिछडिएको उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याई विभिन्न निकायको प्रमुख बनाउने अधिकार प्रदान गर्ने गणतान्त्रिक व्यवस्थामाथि प्रश्न गर्नेहरु पुरातनवादी सोचले ग्रसित भएको बताउनुभयो । संविधान, संघीयता, समावेशिता र सामाजिक न्यायसहितको व्यवस्था र पद्धति जोगाउनु सबै रुपान्तरणकारी शक्तिहरुको अभिभारा रहेको उहाँको भनाई थियो ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले यो व्यवस्थामाथि टिकाटिप्पणी र प्रश्न उठ्नुमा हामी राजनीतिक नेतृत्व र राष्ट्रसेवकहरुको कमजोरी रहेको बताउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “सुशासन कायम गराउनुपर्ने जिम्मेवारी कसको हो ? हाम्रो हो कि होइन ? भ्रष्टचारीहरुलाई सेपेर, अंगालोमा राखेर सुशासन बच्छ ? गणतन्त्र संस्थागत हुन्छ ? तसर्थ, यसमा हामी गम्भीर हुनैपर्छ ।”
अहिले आलोचना र कमीकमजोरीहरुलाई व्यवस्थाको असफलतासँग जोडदै कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्काउने खोज्ने असंवैधानिक कदमहरु भईरहेको उहाँले बताउनुभयो । नेपाल जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिका विरुद्ध ती कदमहरु कदापि मान्य नहुने भन्दै प्रमुख सचेतक जिसीले परिवर्तित इतिहासको पाङ्ग्रा र गतिलाई अब कसैले पनि पछाडि फर्काउन नसक्ने ठोकुवा गर्नुभयो ।
उक्त समारोहमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विपद्मा ज्यानको प्रवाह नगरी नागरिकको खोज, उद्धार तथा पुनःस्थापना कार्यमा संलग्न भएर प्रशंसनीय काम गर्ने प्रहरी निरीक्षक धर्मेन्द्र खड्का, हवल्दार प्रेमबहादुर चुनारा, नेपाली सेनाका प्यूठ विजय कोइराला, केवल कटुवाल र सशस्त्र प्रहरी सहायक हवल्दार धनबहादुर पुनलाई जनही ३० हजार विपद् साहसिक पुरस्कारले सम्मान गरिएको थियो ।