

१४ जेठ २०८२, बुधबार
सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली मुलुकको सबैभन्दा समृद्ध बन्न सक्ने संभावनायुक्त प्रदेश भएको बताउनुभएको छ ।
आज दुल्लुमा आयोजित नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ को तेस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता शाहीले कृषि, पर्यटन, पेट्रोलियम पदार्थ, जलविद्युत र जडीबुटीको सम्भावनाले कर्णाली समृद्ध बन्न सक्ने धारणा राख्नुभएको हो । यद्यपि समृद्ध प्रदेश निर्माण तथा यहाँको दीगो विकासका सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कमजोर सोच र संकुचित मानसिकताका कारण कर्णालीको विकासले फड्को मार्न नसकेको बताउँदै उहाँले यसतर्फ सबै सरोकारवालाहरुलाई सचेत हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एकजना मान्छे खराब हुँदा देशभरका अन्य व्यक्तिले समग्र कर्णालीप्रति नकरात्मक दृष्टिकोण राखेको पाईन्छ । कर्णाली गरिब, कमजोर र विकट छ भन्ने भाष्य पनि बदल्नुपर्दछ । यहाँको असल परिचयका लागि सबै तहमा जिम्मेवार व्यक्तिको कार्यशैलीमा सुधार हुनुपर्दछ ।”
अस्थिरताका राजनीतिका कारण काम गर्न कठिन भएको धारणा राख्दै नेता शाहीले स्थायित्व र विकासका लागि निर्वाचनमा जनमत निर्माणका निम्ति पार्टीका गतिविधिमा थप सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अरुको लहडमा लागेर आफ्नो राजनीतिमा भविश्य नबिगार्न पार्टी कार्यकर्तालाई सुझाव दिँदै जनप्रतिनिधिहरुले सहि ढंगबाट काम गरे नागरिकहरुको हित र पार्टीको गतिशीलता बढ्ने बताउनुभयो ।
मुलुकको राजनीतिक नेतृत्वमा अन्य प्रदेशबाट पुगेपनि कर्णालीले आजका दिनसम्म नेतृत्व लिन नसकेकोले अब केन्द्रीय राजनीतिमा यसले प्रभाव राख्न सक्ने क्षमता वृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको विकासका लागि पार्टी नेतृत्व र कार्यकर्ताको साथ आवश्यक रहेको बताउनुभयो ।
आफ्नो कार्यसम्पादनको सिलसिलामा आम नागरिकबाट आउने रचनात्मक सुझावलाई ग्रहण गर्दै सोही अनुरुप कार्यशैली अपनाइएको प्रष्ट पार्दै मन्त्री भण्डारीले कर्णालीको शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र महिला बालबालिकालगायतका सामाजिक विकास क्षेत्रमा मन्त्रालयको नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।