OnlinePana

आज : २०८२ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १२, २०८२
७ पटक

११ जेठ २०८२, आईतबार

कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तरगतको पहिलोखण्ड निर्माणको शिलन्यास गर्नुभएको छ ।

सुरुवाती बिन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज मुख्यमन्त्री कँडेलले शिलन्यास गर्नुभएको हो । सडक स्तरोन्नतिको काम शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले पहिलोखण्ड स्तरोन्नतिको शुभारम्भले दोस्रो खण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटमा निर्माणाधिन अवस्थामा रहेको पुल बनाउने कार्यमा दबाब पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने भएकोले यसलाई पूर्णता दिनैपर्छ । यो सडक सिङ्गो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो । यसको पूर्णताले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ । जसबाट यहाँको समृद्धिमा ठूलो टेवा पुग्छ ।”

सडक निर्माण सम्पन्न गरेर चितवनको देवघाट जस्तै सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने गरी प्रदेश सरकार अगाडि बढेको बताउँदै मुख्यमन्त्री कँडेलले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । निर्माण कार्य सम्पन्नताका लागि स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुनेमा जोड दिनुभएका उहाँले दोस्रो खण्ड रानीघाट–तेलपानी–भुरीगाउँ खण्डमा जग्गा भोगाधिकार, रुख कटान र रानीघाटस्थित भेरी नदीमा पुल निर्माणका सन्दर्भमा प्रदेश सरकार लागि परेको जनाउनुभयो ।

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले रु.३२ करोड बजेटको स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । कुल रु.१० किलोमिटर सडकमध्ये ७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न बहुवर्षीय ठेक्काअन्तरगत निर्माणको काम थालनी भएको छ ।

विसं.२०८३ पुस ३० गते सम्पन्न गर्ने गरी रु.३२ करोडको उक्त बजेट घटेर भ्याटसहित रु.१८ करोड ५२ लाख २३ हजार आठ सय ५१ लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मुलपानी–रानीघाट सडकको दूरी १० किलोमिटरमध्ये मुलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक भने कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ देखि कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको यो सडकको प्रगति अपेक्षित छैन । उक्त आव.देखि दुई खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का गरिएअनुसार पहिलोखण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म १० किलोमिटर सडक स्तरोन्नतिका लागि विसं.२०७६ पुस ९ मा पूर्वाधार निर्देशनालय र श्याम एण्ड शंकर निर्माण कम्पनीबीच रु.१० करोड २६ लाख ६१ हजार मा ठेक्का सम्झौता भएको थियो ।

विसं.२०७८ फागुन ८ गते निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिए तापनि उक्त सडकले अझै पूर्णता पाउन सकेको छैन । भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाउँ जोड्ने सडकको दूरी ५१ किलोमिटर छ । यो सडकको निर्माण कार्य सम्पन्न भएमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिनेछ ।

 

प्रतिकृया दिनुहोस्