

५ जेठ २०८२, सोमबार
राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बिद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई नेतृत्वमा आज कर्णाली पुगेको टोलीले प्रदेश कार्यालय सुर्खेत वीरेन्द्रनगरमा विद्युतीय हाजिरी मेसिन जडान गरेको हो । रासस प्रदेश कार्यालयहरुले गर्ने कार्यसम्पादनलगायत विविध गतिविधि तथा क्रियाकलापहरुमा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८१÷०८२ भित्र सबै प्रदेश कार्यालयहरुमा बिद्युतीय हाजिरी मेसिन जोड्ने योजना अनुरुप कर्णालीमा पनि यो कार्य सम्पन्न गरिएको महाप्रबन्धक राईले जानकारी दिनुभयो ।
महाप्रबन्धक राईले भन्नुभयो, “यसले राससका कर्मचारीहरुलाई कार्यालयका काम कारवाहीहरुलाई डिजिटल प्रविधिमा अगाडि बढाउन, समयको व्यवस्थापन तथा कागजी झन्जटिलो प्रक्रियाबाट मुक्त हुन सघाउने छ । यद्यपि बिद्युतीय हाजिरी रेकर्ड भने केन्द्रीय कार्यालयको नियन्त्रणमा रहने छ ।” उहाँले रासस कर्णालीले घरभाडा दिन नपर्नेगरी आवश्यक सामग्रीसहित कार्यालय व्यवस्थापन गरेको भन्दै कृतज्ञता प्रकट गर्नुभयो ।
रासस केन्द्रीय कार्यालयका प्रशासन प्रमुख शीतल महतोले कर्णालीमा कार्यरत कर्मचारी तथा स्थानीय समाचारदाताहरुलाई खोजमुलक समाचारका साथै आलेख लेखन, संकलन, प्रशोधन र सम्प्रेषणमा जोड दिन सुझाउनुभयो । समाचार तथा आलेख लेखनबाट राससको गरिमा र उचाई बढाउने समाचारदाताहरुलाई राससले प्रोत्साहन दिँदै आएको उहाँको भनाई थियो ।
महाप्रबन्धक राई नेतृत्वको टोलीले कार्यालयको समग्र अवस्था र यसले भोग्दै आएका समस्याहरुको अनुगमन तथा निरीक्षण गर्नुका साथै यहाँका कर्मचारी र स्थानीय समाचारदाताहरुले राखेका गुनासो सुनुवाई गर्दै राससले आगामी दिनमा ती गुनासाहरुको सम्बोधन गर्ने विश्वास दिलाएको छ ।