

जुम्ला, २५ बैशाख,
महिला जागरण डटकमका अध्यक्ष तथा पत्रकार दिलमाया शाहीले जुम्ला जिल्लामा देखिएको कुशासनका विरुद्ध निरन्तर दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता जनाउनु भएको छ ।
विहिवार खलंगामा आफूमाथि भईरहेका हरेक प्रकारका आक्रमणवारे पत्रकार सम्मेलनको आयोजना गरी कुशासनका विरुद्ध दृढतापूर्वक आवाज उठाईरहने प्रतिबद्धता जनाउनु भएको हो ।
पत्रकार शाहीले आफूले शिक्षा, राजनीति, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सयौं समाचारहरु लेखेको बताउदै सर्वसाधारणहरुले प्रशंसा गरेपनि केही निश्चित शक्ति समूह आफ्ना विरुद्ध श्रृङ्खलावद्ध रुपमा लागेको खुलासा गर्नु भएको छ ।
पत्रकार भेटघाटमा शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘मेरो विरुद्धको श्रृङ्खलावद्ध आक्रमणको पछिल्लो कडीका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको २०८२ वैशाख १४ गतेको पत्रकार सम्मेलन र त्यसपछि जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरिएको साइबर क्राइमको मुद्दा हो । यो किन ? मेरो र आम सरोकारको पत्रकारिता विरुद्ध योजनावद्ध, सुनियोजित आक्रमण हो भन्ने कुरा प्रष्ट पार्न चाहन्छु ।’
पत्रकार शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारले नामै तोकेर दिलमाया शाहीले पाँच लाख मागेको र त्यो नदिएपछि श्रृङ्खलावद्ध प्रतिष्ठान विरुद्ध समाचारबाट आक्रमण गरेको भनेर दिएको अभिव्यक्ति झुटो कपोकल्पीत र आफनो गलत कार्य लुकाउन गरिएको प्रचारवाजी भएको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । पत्रकार शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिलेसम्म एक रुपैयाको कुनै पनि आर्थिक सहयोग आफ्नो मिडियालाई नगरेको प्रष्ट्याउनु भएको छ ।
उहाँ अनुसार आफूले जुम्लामा प्रतिष्ठानका डाक्टरले बालबालिकाको हितमा औषधी उपचार नगरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोहमा संस्थापकहरुलाई अपमान गरिएको, प्रतिष्ठानका कर्मचारी आन्दोलनको न्यायिक निरुपणका निम्ति समाचार प्रसारण गरेको, लोकसेवा मार्फत् स्थायी कर्मचारीको प्रक्रिया सुरु गरिसकेपछि पदाधिकारीको पदावधि सकिंदै गर्दा सेटिङमा करारमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको जस्ता समाचारहरु लेखेका कारण आफूमाथि आक्रमण भएको विज्ञप्तिमा जनाउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यी कुनै पनि समाचारहरु तथ्यको कसीमा जाँच गर्दा अपूर्ण र कपोल्कल्पित ठहरिएका छैनन्, बरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई सच्चाउनका लागि यी जीवनबुटी थिए, उल्टै ममाथि समाचारकै कारण अनेकौं जोड, कोणबाट बदनाम गर्ने कोसिस गरिएको छ ।’ पत्रकार शाहीले पत्रकार सम्मेलनमा आफुमाथि भईरहेका निरन्तर आक्रमणको घोर निन्दा गर्दै समाचार लेखेका कारण मुद्धा हाल्ने विरुद्ध आफूपनि कानुनी लडाई लड्न तयार भएको चेतावनी दिनु भएको छ ।
पत्रकार शाहीको विज्ञप्तिमा, गलत कार्य गर्ने व्यक्तिका विरुद्ध आम सचेत नागरिक, नागरिक समाज, प्रहरी प्रशासन, न्यायिक निकाय, मानव अधिकार, पत्रकार जगतको साथ र सहयोगको अपेक्षा गरिएको छ । उहाँले यस्ता गतिविधिले आफु नथाक्ने ‘म एक मुट्ठी साहास र एक थोपा रगत रहुन्जेल कुशासनका विरुद्ध गर्जिरहने र मेरो कलम थप तिखो बनाउने विज्ञेप्तिमा उल्लेख छ ।