

१३ बैशाख २०८१, शनिबार
सुर्खेतः नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले साँस्कृतिक, पुरातात्विक, सामरिक र ऐतिहासिक महत्व बोकेको कर्णालीलाई मातृ प्रदेशका रुपमा विकास गर्दै लैजानुपर्ने बताउनुभएको छ ।
कर्णाली राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला तथा पूर्ण बैठक सम्पन्न कार्यक्रमको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वर्तमान नेपाललाई भाषा, कला, साहित्य, संस्कृति र सभ्यता दिनुमा कर्णालीको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मूल भाषा, सभ्यता, पहिचान र अस्तित्वको रक्षा गर्न जरुरी छ । जसले राष्ट्रिय स्वाधिनतालाई संरक्षण गर्दै आपसी सद्भाव र एकता कायम गर्न सघाउँछ ।”
उत्खनन् गर्दै यसलाई मातृ प्रदेशका रुपमा विकास गर्दै लैजाने बताउनुभएको छ । कर्णालीलाई मातृ प्रदेशका रुपमा विकास गरिने लक्ष्यका साथ यो मुलुकलाई कर्णालीले भाषा, सभ्यता, संस्कृति, कर प्रणाली र आर्थिक मोडेल दिएको छ । आपसी मिलाप, सद्भाव र सौन्दर्य कर्णालीले दिएको छ । कर्णालीका गहिरा पीडाहरु सम्बोधन गर्ने गरी मुक्तिमोर्चा गठन गरिएको । कर्णालीको माटो, पानीलाई अञ्जुलीमा लिएर कर्णाली बनाउने नवयुगको सूत्राधार र विकास तथा समृद्धिको उदय कर्णालीबाट गर्ने बताउनुभयो ।
महासचिव गुरुङले भाषा, संस्कृति र पहिचान विनाको राष्ट्र, राज्य र राष्ट्रियताको अस्तित्व नरहने उल्लेख गर्दै एक ध्रुवीय विश्व बनाउने खेल चलिरहेको बेला मुलुकमा राष्ट्रिय एकीकरणको नेतृत्व अब कम्युनिष्टको नेतृत्व हुने जिकिर गर्नुभयो । यद्यपि नेपालको रक्षा जनताको एकताबाट मात्र संभव हुने उहाँको भनाई थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुक्ति मोर्चा नेपालका ईञ्चार्ज नरेश भण्डारीले कर्णालीलाई मातृ प्रदेशका रुपमा स्थापित गरी विकास र समृद्धिको नवयुगको उदय कर्णालीबाटै गरिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, कर्णालीले भाषा, संस्कृति, सभ्यता, साहित्य, कला, कर प्रणाली र आर्थिक मोडल दिएको छ । मुलुकको माउ प्रदेशबाटै नवयुगको सुत्राधार निर्माण गर्नुपर्दछ ।”
गणेश भण्डारी संयोजक र खड्गराज सेजुवाल सहसंयोजक रहने गरी गठित २३ सदस्यीय कर्णाली राष्ट्रिय मुक्ति मोर्चा नेपालले वीरेन्द्रनगरमा केन्द्रीय, जुम्लामा विशेष र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी आगामी भदौदेखि कर्णालीबाट मुक्ति मार्च प्रारम्भ गर्ने र त्यसले भ्रष्टाचार, बेथिति, विकृतिका विरुद्ध तथा जनजीविका एवं विकास निर्माणलगायत जनसरोकारका विषयमा संघर्षका कार्यक्रम अगाडि बढाउने बताएको छ ।