OnlinePana

आज : २०८१ चैत्र ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २७, २०८१
२० पटक

२८ चैत २०८१, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उहाँले आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गर्नुभएको हो । ्

पत्रकार भेटघाटमा ३२ मिनेटको भिडियो डकुमेन्ट्रीमार्फत सार्वजनिक गरिएको मुख्यमन्त्री कँडेलको एक वर्षको प्रगति विवरणमा दोस्रो पञ्चवर्षीय योजना, नौवटा कानून १३ कार्यविधि, दुई निर्देशिका निर्माणदेखि सुशासन कायमका साथै दश जिल्लाको भ्रमणलाई समेटिएको छ । सुशासन कायम गर्न निर्मम भएर लागेको दावी गर्नुभएका उहाँले जथाभाबी बजेट वितरण, आफू खुसी रकमान्तर गर्ने र उपभोक्ता समितिबाट हुने बदमासी प्रवृतिलाई नियन्त्रण गरिएको बताउनुभयो ।

सडक, बिजुली, खानेपानी, पुल निर्माणका क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किलोमिटर कालोपत्र, दुई सय पाँच किलोमिटर ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल र आठ सार्वजनिक भवन निर्माण भएको उहाँको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, जनता आवास (संघतर्फ) छ सय ६१, प्रदेशतर्फ दुई सय ३१ र ५६ वटा विपन्न घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले साउन महिनामै बजेट कार्यान्वयनका लागि मातहतका निकायलाई नौबुँदे प्रतिबद्धता गराए अनुसार ७० प्रतिशत बढी अलपत्र आयोजनाको काम सुरु भएको र चालू आवको फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भएको जनाउनुभयो । रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार, से–फोक्सोण्डो सडकको निर्माण कार्य सुरु गरिएको वार्षिक प्रगतिमा राखिएको छ ।

त्यसैगरी, बालुवा संग्रही खलङ्गा सडक, सल्ली बजार चौरजहारी सडक, बड्डीचौर खम्बागाडेलगायत सडकको निर्माण कार्य सुचारु हुनुका साथै बिगतमा अलपत्र परेको मंगलगढी–लाटीकोइली सडक यसै वर्ष निर्माण पुरा भएको उहाँले जनाउनुभयो । संघीय सरकारले ढिलाई गरेपछि विसं.२०८० कात्तिकमा जाजरकोट भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणको काम अघि बढेको जनाउँदै त्यसका लागि चाल आव.मा रु.५० करोड बजेट छुट्याइएको उहाँको भनाई छ ।

मुख्यमन्त्री कँडेलले चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने बताउँदै वितरित योजनाहरुमा ९० प्रतिशत योजना कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । विसं.२०८० चैत २७ गते माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेपनि चार महिना नबित्दै २०८१ साउनमै सत्ता साझेदार दल फेर्नसँगै अहिले कांग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।

प्रतिकृया दिनुहोस्