

२७ चैत २०८१ बुधबार
काठमाडौं: टेक्सासबाट हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) सदस्य अल ग्रीनले राष्ट्रपतिको पदमा बस्न वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ‘योग्य नभएको’ भन्दै आगामी ३० दिनभित्र ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव संसदमा पेस गर्ने बताएका छन्।
गत हप्ता अमेरिकामा देशव्यापी रूपमा भएको ट्रम्प र इलन मस्क विरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै ग्रीनले उक्त कुरा गरेका हुन् । उक्त प्रदर्शनमा देशभर झन्डै ६ लाख नागरिक प्रदर्शनमा सहभागी भएका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
ग्रीनले वासिङ्टन डीसीमा ट्रम्पविरोधी प्रदर्शन ‘ह्याण्ड्स अफ’ लाई सम्बोधन गर्दै भने, ‘हामीलाई अहिले ट्रम्पलाई दोषी ठहर गर्न सक्ने सिनेट चाहिन्छ र म तपाईंहरूलाई मनैबाट भन्न चाहन्छु, उहाँ एक गोलियथ जस्तै हुनुहुन्छ। उहाँसँग सेनाका जनरलहरू, न्याय विभाग र रिपब्लिकन पार्टीको नियन्त्रण छ। तर मेरा साथीहरू, प्रत्येक गोलियथका लागि एक डेभिड हुन्छ।’
ग्रीनले उल्लेख गरेको गोलियथ बाइबलको एक कथा ‘डेभिड र गोलियथ’ का एक पात्र हुन्, जो साह्रै ठूलो, शक्तिशाली र डरलाग्दो योद्धा थिए जसलाई कसैले हराउन नसक्ने ठानिन्थ्यो । तर डेभिड नाम गरेका एक युवा गोठालोले ढुंगा प्रहार गरेर उसलाई हराएका थिए ।
सामान्यतः प्रतिकात्मक रूपमा गोलियथलाई सामना गर्न गाह्रो हुने सत्ता, शक्ति वा अन्यायपूर्ण शक्तिशाली व्यक्ति वा संस्थालाई जनाइन्छ ।
ग्रीनले भने, ‘र म तपाईंलाई जानकारी दिन चाहन्छु, राष्ट्रपतिजी, यो डेभिड तपाईंविरुद्ध ३० दिनभित्र महाभियोगको प्रस्ताव ल्याउँदैछ। म तपाईंलाई लक्षित गर्दैछु। राष्ट्रपतिजी, यो डेभिड तपाईंलाई चुनौती दिन आइरहेको छ ।’
झन्डै दुई महिना अघि ट्रम्पविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने वाचा गरेका ग्रीनले राष्ट्रपति ट्रम्पले आफू बसेको पद ‘ढंगले सम्हाल्न नसकेको’ तर्क गरेका छन्।
‘तपाईंबाट सबैका लागि स्वतन्त्रता र न्यायको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने विश्वास गर्न सकिंदैन । ‘जनताको सरकार, जनताद्वारा, जनका लागि’ तपाईं सम्हाल्न सक्नुहुन्न। म तपाईंको डेभिड हुँ। म आउँदैछु। भगवानले तपाईंहरू सबैलाई आशीर्वाद दिनुहोस्,’ ग्रीनले अगाडि थपे।
यसैबीच, ह्वाइट हाउसकी सहायक सञ्चार सचिव लिज हस्टनले इमेलमार्फत प्रतिक्रिया दिँदै भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पको धारणा स्पष्ट छ: उहाँ सधैं योग्य लाभग्राहीहरूका लागि सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेडको रक्षा गर्नुहुनेछ।’
हस्टनले थपेकी छन्, ‘यसको विपरीत, डेमोक्र्याटहरूको नीतिले अवैध आप्रवासीहरूलाई सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेड जस्ता सुविधा दिने योजना बनाएको छ, जसले यी कार्यक्रमहरूलाई पंगु बनाउनेछ र अमेरिकी वृद्ध नागरिकहरूलाई ठूलो भार पार्नेछ।’
गत फेब्रुअरी ५ मा सिनेटमा दिएको भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाको कब्जा लिनुपर्ने आशयको प्रस्ताव अगाडि सारेपछि ग्रिनले राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने बताएका थिए ।
‘गाजामा हुने अन्याय, अमेरिका भित्रको न्यायका लागि खतरा हो,’ त्यतिबेला ग्रिनले भनेका थिए। उनले शनिबार पनि त्यस्तै भनाइ दोहोर्याउँदै भने, ‘युद्धग्रस्त गाजा क्षेत्र कुनै रिसोर्ट बन्ने छैन। प्यालेस्टिनी जनताको लागि त्यहाँ घर हुनै पर्छ।’
ग्रिनले ट्रम्पको पहिलो कार्यकालमा पनि धेरै पटक महाभियोग लगाउने प्रयास गरेका थिए, तर ती सबै प्रयास सफल हुन सकेका थिएनन् ।
अमेरिकी संविधानको धारा १, खण्ड २ ले प्रतिनिधिसभालाई महाअभियोगको मुद्दा ल्याउने अधिकार दिएको छ। कुनै पनि प्रतिनिधिसभाका सदस्यले राष्ट्रपति, उपराष्ट्रपति, वा संघीय अधिकारीहरूलाई ‘राजद्रोह, भ्रष्टाचार वा अन्य उच्च अपराध र दुष्कर्महरू’ को लागि महाअभियोग प्रस्ताव ल्याउन सक्छन्।
प्रतिनिधिसभाको बहुमतले महाअभियोग प्रस्ताव पारित गरेपछि, यो सिनेटमा पठाइन्छ। सिनेटलाई महाअभियोगको मुद्दामा सुनुवाइ गर्ने अधिकार छ । राष्ट्रपतिलाई दोषी ठहर गर्न सिनेटको दुई तिहाइ बहुमत चाहिन्छ ।
-एजेन्सीहरूको सहयोगमा