

२४ चैत २०८१, आईतबार
भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिंजा गाउँपालिका ५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सुर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहिन अवस्थामा रहेका छन् ।
यही चैत १२ गतेका दिन हुम्ला घर भई सुर्खेत लाटीकोईली बस्दै आएको बताउने चार जना अपरिचित नेपालीले खाजा खान बसौं भनेर दिउसो ३ः०० बजेको समयमा काँशीपुरमा जहर खुवाई बेहोस् बनाएका उनी अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । हालसम्म उनी कहाँ छन् भन्ने पत्तो नभएको र खोजीको निम्ति आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सूर्यचनसँगै सिंजा गाउँपालिका ६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि जहर खुवाएर तीनै जनाबाट ती लुटेराहरुले भारतीय रु.एक लाख १७ हजार भारतीय लुटेका थिए । जहर खुवाई लुटिएका तीन मध्ये सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होस्मा आएपछि नेपाल फर्केको उहाँले जनाउनुभयो ।
आफु भने खोजी कार्यमा भारत पुगेको उहाँको भनाई छ । सूर्यचन, अनबहादुर र वीरेन्द्र भारतको गडवालमा चार महिनादेखि काम गर्दै आएका थिए । घर फर्कने क्रममा हराएका बुढा आजसम्म सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गरिदिन सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।