OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रदेश विनियोजन विधेयक प्रदेशसभामा प्रस्तुत

रुकुमपश्चिम घटनाका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कोरपाटी संवाददाताजेठ १२, २०७७ सुर्खेत
७१२ पटक

सुर्खेत, १२ जेठ २०७७ मंगलबार
कर्णाली प्रदेशको विनियोजन विधेयक २०७७ प्रदेशसभामा प्रस्तुत गरिएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विधेयक प्रस्तुत गर्नुभएको हो ।

आगामी वर्षको आर्थिक मामिलामन्त्री ज्वालाले आगामी आव.२०७७÷०७८ को मूलभूत सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको विनियोजन विधेयक २०७७, छलफलका लागि सभामा प्रस्तुत गर्नुभयो । बैठकमा उहाँले कर्णाली प्रदेशमा समावेशी, दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण र सामाजिक न्याय कायम गर्न “स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार ः जीवनस्तरमा रुपान्तरण र दीगो पूर्वाधार“ भन्ने मूल ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने जनाउनुभयो ।

यो छलफलले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रमलाई थप नतिजामुखी र कर्णालीमैत्री बनाउन सघाउ पुर्याउने बताउँदै पूर्व बजेट छलफलका प्रयोजनका लागि प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुमा रचनात्मक छलफल र महत्वपूर्ण सुझावसहित आवश्यक मार्गदर्शनको लागि सदस्यहरुलाई अनुरोध गर्नुभएको थियो ।

रुकुमपश्चिम घटनाका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कर्णाली प्रदेशसभामा अन्तरजातिय बिहेको विषयलाई लिएर रुकुमपश्चिममा भएको घटनाको छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा विशेष समयमा बोल्ने सदस्यहरुले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारवाहीको सिफारिस गर्न प्रदेश सरकारसंँग माग गरेका हुन् । प्रदेशसभा सदस्य सीता नेपालीले रुकुम घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न अबिलम्ब गर्न जोड दिनुभयो । घटना भएको ३ दिन बितिसक्दा बेपत्ताहरुको खोजीमा बेवास्ता गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

रुकुमपश्चिम क्षेत्रका प्रदेशसभा सदस्य रातो कामीले तत्काल संसदीय समिति गठनको माग गर्नुभयो । “दुलही लिन पुगेका चार जना अझैं बेपत्ता भएकाले खोजी कार्यमा प्रदेश सरकार गम्भीर बन्नुपर्दछ,” उहाँले भन्नुभयो, “पीडित परिवारलाई न्याय र सामाजिक सद्भाव कायम गराउन सरकार गम्भीरतापूर्वक लाग्नुपर्छ ।” पे्रम प्रसंग र अन्तरजातिय बिहेकै कारण घटना भएकाले यसबाहेक अन्य कुनै कारण नभएको उहाँको भनाई थियो ।

प्रदेशसभा सदस्यहरु पद्मा खड्का, बद्मी क्वारी बोहरा, कौशिलावती खत्री, दानसिंह परियार, गणेशप्रसाद सिंहलगायतले घटनाको निन्दा गर्नुभयो । प्रदेशसभा सदस्य त्रय अम्मरबहादुर थापा, धर्मराज रेग्मी र सुशीलकुमार थापाले कोरोना भाइरसका कारण दैलेखको अवस्था भयावह भएको भन्दै तत्काल आइसोलेसन अस्पताल निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

विपक्षी दल कांगे्रसका सदस्य दिनबन्धु श्रेष्ठले कोभिड १९ विरुद्ध लड्नलाई प्रदेश सरकारको तयारी पर्याप्त नभएको धारणा राख्नुभयो । अर्का प्रदेशसभा सदस्य पदम रोकायाले लकडाउनका मौका छोपी प्रहरी प्रशासनको आडमा कालोबजारी बढेको र बिचौलियाहरु हावी भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, विशेष समयमा बोल्ने अधिकांश सदस्यहरुले नेपाल सरकारले भारत सरकारद्धारा अतिक्रमित भूमिसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेकामा धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्