OnlinePana

आज : २०८१ चैत्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २९, २०८१
२० पटक

२९ फागुन २०८१, बिहीबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई स्वच्छ, स्वस्थ र समुन्नत सहरमा विकास गर्ने गरी योजनावद्ध तवरबाट अगाडि बढिएको बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा आज यहाँको वडा नं. १४ सुर्खेत बयलकाँडास्थित ऐतिहासिक पर्यटकीयस्थल कोतगडीमा आयोजित ‘पत्रकारहरु र नगरपालिकाबीच अन्तरक्रिया’ कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले समृद्ध निर्माण गर्ने हेतुले नगरपालिकालाई उपमहानगरपालिका बनाउने तयारी अगाडि बढाइएको जनाउनुभयो ।

“हामीले उपमहानगरपालिकाको लागि चाहिने आवश्यक मापदण्ड पुरा भएको प्रतिवेदन प्रदेश सरकारमार्फत संघ सरकार समक्ष पठाइसकेका छौं,” उहाँले भन्नुभयो, “उपमहानगरपालिका घोषणापश्चात् वीरेन्द्रनगरलाई मुलुकको पर्यावरणीय, पर्यटकीय हव बनाउँछौं ।” शिक्षा, स्वास्थ्य र कृषिमा जोड दिदै प्राकृतिक हरित सहर एवं पूर्णरुपले डिजिटिलमैत्री नगरपालिकाका रुपमा विकास तथा उज्यालो सहरका लागि सडक बत्तीका साथै सिसीटिभी क्यामरा व्यवस्थाका लागि टेण्डर भइसकेको नगरप्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार बढ्दो सहरीकरणले भूमि मासिदै गएकोले कृषि उत्पादनका लागि उर्बरभूमि जोगाउन तथा व्यवस्थित बस्तीका निम्ति भूउपयोग नीति बनाइनेछ । नागरिकहरुमा सुशासनको प्रत्याभूति दिलाउन सेवा प्रवाहलाई सहज, सर्वसुलभ र न्यायिक बनाउँदै प्रणालीबाट काम गर्ने संस्कृतिको विकास गरिनेछ । राष्टिय मापदण्ड अनुरुप नक्सापासलाई व्यवस्थित गरिनेछ ।

पालिकाका उपप्रमुख नीलकण्ठ खनालले वीरेन्द्रनगर प्रदेश राजधानी सहर भएकोले शिक्षा, स्वास्थ्यको प्रबन्ध गर्ने विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । महिनावरी स्वच्छताका लागि गत वर्ष ४० हजारलाई सेनिटरी प्याड वितरण गरिएको र अहिले पनि निरन्तरता दिइएको, हेलो गर्भवती आमा कार्यक्रम सञ्चालन गर्नुका साथै सिकसेल उपचार गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले गत वर्ष समग्रमा ९५ प्रतिशत बजेट खर्च प्रगति रहेको, लिजामा ९१.५ अंक प्राप्त भएको, कर वृद्धि भन्दा यसको दायरा बढाउने गरी अगाडि बढेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणमा जोड दिइएको, महिला तथा बालिकामैत्री सहर तथा ग्रेटर घण्टाघर निर्माणको अवधारणाबाट अगाडि बढिएको जनाउनुभयो ।

उक्त कार्यक्रममा पत्रकारहरुले ऐतिहासिक कोतगढीको अध्ययन, अनुसन्धान र पुनःनिर्माण गरी त्यसलाई साँस्कृतिक पर्यटनका रुपमा प्रवद्र्धन गर्नुपर्ने, सहिदपार्र्क–गढीसम्मको पदमार्गलाई पूर्णता दिनुपर्ने, नगरपालिकाले यथाशीघ्र सञ्चारमैत्री कानून निर्माण गर्नुपर्ने र पालिकाले कार्यसम्पादन तथा गरेको प्रगतिको सार्वजनिक गरी नागरिकलाई सुशासनको प्रत्याभूति गराउन त्रैमासिक पत्रकार भेटघाट कार्यक्रम राख्नुपर्ने नीति अख्तियार गर्न सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्