OnlinePana

आज : २०८१ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०८१
१४ पटक

२३ फागुन २०८१, शुक्रबार

सुर्खेतः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आफ्नो हिसाबले विकासको अत्यन्तै सुन्दर संभावना भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको १४औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली उर्जा, कृषि, पशुपालन, फलफुल, औषधीजन्य जडिबुटी, उर्जा उत्पादनका हिसाबले अत्यन्तै धनी प्रदेश हो भन्नुभयो । इतिहास, दुर्लभ चीज, खानीका हिसाबले पनि कर्णाली सम्पन्न प्रदेश भएको उहाँले दावी गर्नुभयो ।

यहाँका अधिकांश जिल्ला घुमेको, हेरेको, देखेको, अध्ययन गरेको र धेरै बुझेको बताउँदै प्रधानमन्त्री ओलीले यो भूगोल निर्माणका लागि केन्द्र सरकार पूर्णरुपले साथमा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीको दुःखप्रति सरकार जानकार छ । जाजरकोट भूकम्पको पुनः निर्माण, कर्णाली तथा भेरी करिडोरलगायतका विकास निर्माणका लागि हामी लागि परेका छौं ।”

अहिले ९८ प्रतिशत गाउँ घरमा विद्युत, ९२ प्रतिशतमा खानेपानी पुगेको छ भन ८७ प्रतिशत भन्दा माथि साक्षरता रहेको जनाउँदै उहाँले फुसको छानालाई हटाएर जस्ता, ज्येष्ठ नागरिकलाई रु.एकमा खाता खोल्ने, बीमा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । नेपाली जनताको त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र सफलता साथ अगाडि बढेको, सडक, हवाई यातायात, विद्युत, सञ्चार सुविधामा बढोत्तरी आएको बताउनुभएका उहाँले भेरी बबई डाइभर्सन आयोजना त्यति राम्रोसँग अगाडि नबढेको जनाउनुभयो ।

भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरुपले लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, सरकारले कर्णालीमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, मध्यपश्चिम विश्वविद्यालय, राकम कर्णालीलगायतका ठूला संरचना खोलेको छ । कर्णाली भेरी करिडोर बनाउन लागि परेका छौं । अब पक्की बाटो र पुल बनाउन बाँकी । पूर्वाधारको क्षेत्रमा ठूलो प्रगति गरेका छौं ।”

लोकतन्त्रमा नागरिक सर्वोच्चता हुन्छ जुन प्रणाली हाम्रो ठूलो स्वाभिमान हो । यसलाई प्रभावकारी र सुदृढ कसरी गर्ने भन्ने हेतुले संविधान जारी गरेका छौं । संविधान समग्र राष्ट्रका समस्या सम्बोधन गर्न ल्याइएको दस्ताबेज हो । अब सरकारको कर्तव्य जनताको बलिदानबाट ल्याएको गणतन्त्र कार्यान्वयन हो । सबै कुरामा होइन, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने गरी संविधान संशोधन हुन्छ । जुन गठबन्धन सरकारको सहमतिको दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

अहिलेको सरकार दुई ठूला दलको गठबन्धनबाट असाधारण अवस्थामा बनेको सरकार भएकोले देशको प्रणाली मात्र नभई देश नै बचाउने उहाँको जिकिर थियो । संविधान र संघीयता नै खतरामा पर्ने अवस्था आएपछि दुई शक्तिबीचको समीकरण भएको हो उल्लेख गर्दै प्रधानमन्त्री ओलीले टुट्नेवाला सरकार नभई लक्ष्य पुरा गर्नका लागि आगामी ०८४ सम्म मजबुत भएर जाने बताउनुभयो ।

उहाँले कसैलाई आफू लोकप्रिय छु भन्ने लागे विस.२०८४ पर्खन चुनौति दिँदै उहाँले भन्नुभयो, “जनभावना र आकांक्षा अनुसार यही सरकारले केही काम गर्छ । विज्ञान प्रविधिको प्रयोग गरेर नयाँ ढंगले विकासको काम गर्नुछ । देशको मुहार फेर्ने अभिभारा हाम्रो काँधमा छ । स्थिरता र स्थायित्वसहितको सुशासनको मार्गमा अगाडि बढेको अहिले सरकार हो । ढुक्क साथ अगाडि बढ्नुस् ।”

प्रतिकृया दिनुहोस्