OnlinePana

आज : २०८१ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०८१
१४ पटक

२३ फागुन २०८१, शुक्रबार

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो भएको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८१’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आन्तरिक सुरक्षाको मियोको रुपमा स्थापित नेपाल प्रहरी समयसापेक्ष अगाडि बढ्ने सके मात्र नागरिकले शान्ति र सुरक्षाको प्रत्याभूत गर्ने बताउनुभयो । अपराधका शैली फेरिदँदै गएकोले सूचना र प्रविधिको विकाससँगै अनुसन्धान अभियोजना प्रक्रियालाई पनि वैज्ञानिक र वस्तुवादी बनाउनुपर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याती हामी नेपाली र नेपालको लागि पूँजी हो । सिमित साधन र स्रोतका बावजुद यो पूँजी निर्माणमा राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलता प्रशंसनीय छ । जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विना बर्दीका सिपाही मानिने आम नागरिकको भरोसा जित्ने गरी तपाईहरुका आचरण, व्यवहार र शिष्टतालाई त्यसतर्फ केन्द्रित गर्नुस् ।”

नविनतम आविष्कार र प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरीले आफूलाई दक्ष र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो । मुख्यमन्त्री कँडेलका अनुसार अपराध नियन्त्रणमा जानी नजानी गरिने लापरवाही वा बद्नयितले सिंगो राज्य व्यवस्थाप्रति नै नकारात्मक प्रभाव पार्ने विषयलाई हामीले हेक्का राख्नैपर्दछ ।

उच्च अदालत सुर्खेतका कायममुकायम न्यायधीश कृष्णलाल भट्टराईले प्रविधिबाट हुने अपराध निकै चुनौतिपूर्ण भएको जनाउँदै यसमा अनुसन्धान प्रक्रियालाई प्रविधिसँग जोडेर लिनुपर्ने सुझाव दिनुभयो । अपराध अनुसन्धानको पहिलो काम प्रहरीको भएकोले यसमा प्रमाण नष्ट नहुने गरी प्रहरीले काम गर्ने सके पीडितले न्याय पाउने र त्यसले मात्र समाजमा न्याय, सुशासन र शान्ति कायम हुने धारणा उहाँले राख्नुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रहरी प्रधान कार्यालयले बिगत केही समयदेखि अपराध अनुसन्धान र नियन्त्रणलाई समयसापेक्ष, पारदर्शी र नागरिकमैत्री कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा गोष्ठी गर्दै आएको बताउनुभयो । अहिलेको बदलिँदो परिस्थितिमा अपराध अनुसन्धान गर्ने शैलीमा व्यापक परिवर्तन ल्याउनुपर्ने देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पछिल्लो चरणमा डिजिटल प्लेटफमको प्रयोगबाट अपराध बढ्दै गएको छ । आर्थिक कारोवारसँगका बढी अपराधहरु संख्यात्मक हिसाबले हरेक प्रदेशमा बैकिँग कसुर अर्थात् अनलाइन ठगीका अपराध बढ्दै गएका छन् । कुत्रिम बौद्धिकताको जमानामा डिजिटल प्लेटका कम्प्युटराईज गाडीहरु अपराधका हिसाबले असुरक्षित छन् । गाडी चलाईरहँदा ह्याकरहरुले ह्याक गरी बायाँतिर मोडेर खाल्डोमा फाल्दिएर दुर्घटना हुन सक्ने अवस्था छ ।”

विश्वमा अपराधको दर अपत्यारिलो तरिकाले बढी रहेकोले अब बयानमुखी जाहेरी दरखास्त र भनसुनका आधारमा अपराधी समात्ने परम्परागत प्रक्रियाले शान्ति, सुरक्षा र सुशासन कायम गर्न नसकिने अवस्थामा दक्षता हाँसिल कसरी गर्ने भन्नेतर्फ लाग्नुपर्ने जिम्मेवारी थपिएको प्रहरी अतिरिक्त महानिरीक्षक कडायतको भनाई थियो । उहाँले यसका लागि राज्यले अनुसन्धान र अभियोजन प्रक्रियालाई नागरिकमैत्री बनाउन सूचना र प्रविधिमैत्री जनशक्ति निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उक्त गोष्ठीमा कर्णाली प्रदेश सरकारका मुख्यन्यायधिवक्ता सुर्खेत जिल्ला अदालतका न्यायधीश, उच्च सरकारी वकिल कार्यालयका प्रतिनिधि, दशवटै जिल्लाका प्रहरी प्रमुख तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्