OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २१, २०८१
३८३ पटक

सुर्खेत २० फागुन २०८१, बुधबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले संविधान र संघीयता सहिदहरुको जीवन बलिदानको उपज भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित जनक्रान्तिका महान् सहिद परिवार समाज नेपाल कर्णाली प्रदेश समितिको ‘प्रथम भेला तथा अभिनन्दन’ कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सहिदहरुको बलिदान, घाईते, अपाङ्ग र बेपत्ताहरुको रगत पसिनाबाट आजको व्यवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान, संघीयता, समानुपातिक र समावेशिता माओवादीका एजेण्डा हुन् । मुलुक हाम्रै एजेण्डामा हिडेको छ । यद्यपि ती एजेण्डाहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सहिदहरुका सपना पुरा हुन सकेका छैनन् । घाईते, अपाङगहरुको व्यवस्थापन हुन सकेको छैन भने बेपत्ताहरुले न्याय पाउन सकेका छैनन् ।” अब माओवादीले आफ्नो वर्गको संरक्षणका लागि जागरण अभियान चलाएको र यो सशक्त एवं बढोत्तरी हुँदै गएको उहाँको भनाई थियो ।

जनक्रान्तिका महान् सहिद परिवार समाज नेपालका केन्द्रीय सदस्य देवीलाल गौतमले सहिदहरुको बलिदानबाट आएको व्यवस्थाको नेतृत्व गर्नेहरुले उनीहरुको अपमान गरिरहेको बताउनुभयो । पछिल्लो समयमा व्यवस्था परिवर्तनका लागि जीवन गुमाएका परिवारका सदस्य, घाईत, अपाङ्ग तथा उत्पीडित वर्ग, जाति र क्षेत्रका जनतालाई सामाजिक न्याय हुने गरी काम गर्ने एजेण्डा माओवादीसँग नै भएको जिकिर गर्नुभयो ।

सहिद परिवार समाजको अध्यक्षमा बुढा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आयोजनामा आज जनक्रान्तिका महान् सहिद परिवार समाजको प्रथम कर्णाली प्रदेश भेला तथा अभिनन्दन कार्यक्रम सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ । जसमा १३५ सहिद परिवारलाई अभिनन्दन गरिएको छ ।

उक्त भेलाले दिलमाया बुढाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा निर्मला बिस्ट, सचिवमा धर्मराज शाही (सुमन), सहसचिवमा जंगबहादुर बुढा र कोषाध्यक्षमा हरि मल्ल(भाष्कर) चयन हुनुभएको छ । उक्त यो अभियान अब जिल्ला हुँदै पालिकासम्म बिस्तार हुने नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्