

१५ फागुन २०८१, बिहीबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली पौष्टिक तत्वयुक्त फलाउने स्वर्ण भूमि भएको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘स्तरोन्नति गरिएको चामल तथा स्थानीयस्तरमा खरिद र बिक्री कक्ष सञ्चालनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कर्णाली वरिपरि नै पौष्टिक तत्व हुँदापनि बाहिरबाट ल्याउनुपर्ने विवशता रहेको बताउनुभयो ।
“कर्णालीमा पौष्टिक तत्वयुक्त र औषधिजन्य गुण भएका अन्न उत्पादन हुने तर खानपिनको चेतना कम भएका कारण त्यसको उपभोग गर्न नजान्ने अवस्था छ अहिले पनि विद्यमान छ,” उहाँले भन्नुभयो, “यहाँको उत्पादन, उपभोगको महत्व र बजारीकरणबारे ध्यान पुर्याउन आवश्यक छ ।” मुख्यमन्त्री कँडेलले कर्णाली दुग्ध पदार्थमा आत्मनिर्भर बन्ने अवस्थामा रहेको समेत जनाउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले पौष्टिक तत्व अर्थात स्तरोन्नति गरिएको चामल र स्थानीयस्तरमा खरिद र बिक्री कक्ष तथा कम्पनीले हालसम्म गर्दै आएका कामबारे आफ्नो प्रस्तुति राख्नुभयो । पछिल्लो समयमा कर्णालीका ७९ मध्य ६१ स्थानीय तहमा चामल खरिद तथा बिक्री सम्झौता गरिएको प्रमुख कार्यकारी अधिकृत आचार्यको भनाई थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले बाहिरबाट स्तरोन्नतिको चामल आपूर्ति गर्नुका साथै कर्णालीको रैथानी बाली संरक्षण, उत्पादन तथा बजारीकरणमा विशेष जोड दिनुपर्ने सुझाएका थिए ।