![](https://corepati.com/wp-content/uploads/2021/06/830-X-100.jpg)
![](https://corepati.com/wp-content/uploads/2025/02/Yam-900x600.jpg)
२ फागुन २०८१, शुक्रबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले देशलाई विश्वसामु चिनाउन खेलाडीको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
जिल्ला खेलकुद विकास समितिद्वारा आज सिम्ता गाउँपालिका सुर्खेत आयोजित १६औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरुको मेहनतले देशलाई नै विश्वसामु चिनाएको बताउनुभयो । विद्यालयले खेलकुदका माध्यम विद्यार्थीहरुलाई असल नागरिक बनाउन खेल क्षेत्रको ठूलो योगदान रहेको उहाँले जनाउनुभयो ।
खेलकुदसहित समग्र क्षेत्रको विकासका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि अनवरत पहल भइरहेको बताउनुभयो । खेलाडीको जीवन रक्षाका निम्ति प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट लागू हुनेगरी कर्णालीका सबै खेलाडीहरूको बीमा गरिदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
त्यसैगरी, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आजै निर्णय हुँदै गरेको बारे जानकारी गराउँदै पूर्व प्रस्तावित मितिमै उक्त प्रतियोगिता सञ्चालन हुने विश्वास दिलाउनुभयो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेल, सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षहरुको सहभागी रहेको थियोे ।