

१ फागुन २०८१, बिहीबार
नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर मल्लले जनयुद्धको प्रचार माओवादी भन्दा विरोधी शक्तिहरुले नै राम्रोसँग गरेको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ३०औं जनयुद्ध दिवसको अवसरमा नेता मल्लले विरोधी शक्तिहरुको प्रचारले नै जनयुद्ध ठिक थियो प्रष्ट्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, धेरैले माओवादी जंगल पस्यो भन्छन् । माओवादी जंगल पसेको होइन, सहरबाट गाउँ पसेको हो । जहाँ उसले जनसत्ता सञ्चालन गर्यो र तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध युद्ध छेड्यो ।
उक्त दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्य समितिका सभापति खड्गबहादुर पोखरेलले आजको संघीय व्यवस्था जनयुद्धको भूमिकाबाट आएको बताउनुभयो । जनयुद्ध भएकै कारण व्यवस्था र तत्कालीन राज्य संरचना परिवर्तन भएको उहाँको भनाई थियो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य द्वय बिन्दमान विष्ट र झकबहादुर मल्लले जनयुद्धलाई हिंसा भन्नेहरुले यसकै जगमा बसेर सत्ता सञ्चालन गरिरहेको टिप्पणी गर्नुभयो । मुलुकमा संघीय लोकतन्त्र, समावेशिता र समानुपातिकता ल्याउनुमा जनयुद्ध र नेपाली जनताको ठूलो योगदान रहेको उहाँहरुको भनाई थियो ।