OnlinePana

आज : २०८१ माघ २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २७, २०८१सुर्खेत
९२ पटक

२७ माघ २०८१, आईतबार

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले ‘समाजवादी यात्रा’ कर्णाली प्रदेश माओवादीको ऐतिहासिक दस्ताबेज भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति, प्रकाशन विभागद्वारा सुर्खेत वीरेन्द्रनगरमा आईतबार आयोजित पार्टीको मुखपत्र ‘समाजवादी यात्रा’ माथिको विमर्श कार्यक्रममा बोल्दै इञ्चार्जले मल्लले मुखपत्र कर्णाली पार्टीको आधिकारिक धारणा र स्पष्ट चित्र भएको बताउनुभयो । लामो समयको मेहनतपछि प्रकाशन विभागले इतिहासमा पहिलो पटक पार्टीको मुखपत्र प्रकाशनमा ल्याएको प्रति धन्यवाद ज्ञापन गर्दै उहाँले मुखपत्र राजनीतिक, वैचारिक सिद्धान्तको संगालो भएको उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशमा माओवादी आन्दोलनको थालनी र विकास कसरी भयो भन्ने बारेमा मुखपत्रले प्रष्ट्याएको उहाँको भनाई थियो । इञ्चार्ज मल्लका अनुसार आगामी दिनमा यसलाई परिस्कृत गर्दै लैजानुपर्ने र यसले पार्टीको कार्यदिशा, योजना र श्रमिकहरुको लागि विचार प्रदान गर्नेछ । जनयुद्ध नै लडेकाले हिंसा भन्ने थालेको प्रति दयाभाव देखाउँदै उहाँले बादल लिम्पियावादी भएको र उहाँकाे मतिबुद्धिले पनि काम नगरेको दोषारोपण गर्नुभयो ।

मालेमावादको आलोकमा जनयुद्ध भएर आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकोको जिकिर गर्दै ईञ्चार्ज मल्ले तत्कालीन् माओवादी सशस्त्र संघर्ष हिंसा नभइ जनयुद्ध नै भएको दावी गर्नुभयो । नेपाली उत्पीडित जनताले मर्नबाट बिर्सेर आजको व्यवस्था ल्याउनका लागि युद्ध गरेको उहाँले तर्क गर्नुभयाे ।

गणतन्त्र निवेदन हालेर नआएको र कसैले बक्सिस पनि नदिएको यद्यपि ऐतिहासिक आन्दोलनबाट युगान्तकारी परिवर्तन भएको उहाँको भनाई थियो । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सिद्धान्तलाई व्यवहारमा उतार्न सकेमात्र समाजवादकाे यात्राले आफ्नो अपेक्षित गन्तव्य भेटाउने बताउनुभयो ।

हाम्रो आवश्यकतामा आधारित कर्म गर्नुपर्ने कुरा औंल्याउँदै उहाँले आदर्शलाई व्यवहारिक प्रयोगमा ल्याउन सकेमात्र प्राप्त ज्ञान सबैका लागि लाभदायक हुने जनाउनुभयो । यद्यपि अध्ययन संस्कृतिलाई बढाएर लैजानुपर्ने र खोज अनुसन्धानलाई बढाउनुपर्ने उहाँको सुझाव थियो ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रामदीप आचार्यले पर्यावरण, कृत्रिम बौद्धिकता सम्बन्धी माक्र्सवादी धारणा के हुने भन्ने विषयमा आफ्नो भनाई राख्नुभयो । उहाँले सूचना र प्रविधिको युगमा हरेक नवीन सोच, खोज र अनुसन्धानलाई आजकाे मानव विशेषगरी माओवादीहरुले गहिरो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य वसन्तकुमार शर्माले पार्टीको कर्णाली प्रदेश समितिको प्रकाशन विभागले मुखपत्र प्रकाशनबाट उदाहरणीय काम गरेको बताउनुभयो । मुखपत्रमा कर्णालीको माओवादी आन्दोलनको इतिहास समेट्न प्रयास भएको तथापि केही जिल्लाको विषयवस्तु छुटेकोले अर्को अंकमा ल्याउनुपर्ने सुझाव उहाँले दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले विचारको खडेरी परिरहेको बेला कर्णालीमा रचनात्मक काम गरौं भनेर पार्टीको प्रदेश समितिको पूर्ण बैठकबाट समाजवादी यात्रा प्रकाशन गरिएको बताउनुभयो । यसमा प्रकाशन विभाग प्रमुख मोहनकुमार शाही नेतृत्वको टोलीले सह्रानीय र ऐतिहासिक काम गरेको उहाँको भनाई थियो । यसमा सन्देश तथा जानकारीमूलक विषयवस्तुसमेत समेटिएको अध्यक्ष केसीले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति, प्रकाशन विभाग प्रमुख मोहनकुमार शाहीले पछिल्लो समयमा पार्टी सदस्यहरुमा अध्ययन तथा खोज अनुसन्धान गर्ने संस्कृति कम हुँदै गएको र गम्भीर भएर सोच्ने नगरेको बताउनुभयो । पार्टीलाई सैद्धान्तिक, वैचारिक तथा अध्ययनका हिसाबले अगाडि बढाउने र यसमा नेता, कार्यकर्ता एवं सदस्यहरुलाई सिर्जनशील बनाउने ध्येयले लामो समयपछिको प्रयासबाट पार्टीको मुखपत्रका रुपमा ‘समाजवादी यात्रा’ प्रकाशन गरिएको र जुन सन्दर्भ सामग्री बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विमर्श कार्यक्रममा पार्टीका प्रदेश पदाधिकारी तथा सचिवालय सदस्य, प्रदेश सदस्यहरु, दशवटै जिल्ला समन्वय समितिका संयोजकहरु, पालिका अध्यक्ष, बुद्धिजीवि, जनवर्गीय संगठनका प्रमुख तथा पत्रकारहरु गरी विमर्श कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्