OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशन शुरु

बैठक राष्ट्रियता र कोरोना संकटमा केन्द्रित

कोरपाटी संवाददाताजेठ ११, २०७७ सुर्खेत
४५६ पटक

सुर्खेत, ११ जेठ २०७७, सोमबार

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक मुलुकको राष्ट्रियता र कोरोना महामारीको संकटमा केन्द्रित भयो । सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पठाएको बैठक आह्वानको पत्र वाचन गरेपश्चात शुरु भएको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले कोभिड–१९ को विश्वव्यापी महामारीको संकटको सामना गरिरहँदा राष्ट्रियता बचाउन पनि त्यत्तिकै खाँचो रहेको बताएका छन् ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिक मतभेद हुँदाहुँदै पनि हाम्रो मातृभूमि खोसिएको कुरामा नेपालका सबै दल, संसद र सरकार एक भएर राष्ट्रियताका लागि साझा मत लिएर अगाडि बढ्नुले राम्रो सन्देश दिएको बताउनुभयो । “भारतले हाम्रो भूमि हस्तक्षेप मात्र गरेन, नेपाली भूमिलाई आफ्नो नक्सामा राख्नेदेखि बाटो खन्नेसम्मको काम गरेर कोरोना भाइरसले दिएको पीडामाथि थप पिडा दियो,” नेता शाहीले भन्नुभयो, “लिम्पियाधुरा, लिपुलेक र कालपानी समेटेर नक्सामा जारी गरी नेपाल सरकारले ऐतिहासिक काम गरेको छ । यसमा म नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

पछिल्लो समयमा कोरोना संकटले मुलुक अस्तव्यस्त हुँदा त्यसको मारमा ज्याला मजदुरी गर्नेहरु परेको भन्दै उहाँले सरकारले ६० वर्ष मुनिका एक महिला र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने कुरामा पुनर्विचार गरिनुपर्नेमा जोड दिनुभयो । अहिले कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिदै गएपछि प्रदेश सरकारले त्यसको उचित व्यवस्थापन गर्न नसकेको नेता शाहीको आरोप थियो ।

हेलिकोप्टरमा चढेर अर्ती उपदेश दिने नभई कर्णालीमा कोरोना सचेतना आवश्यक रहेकोको औंल्याउनुएका उहाँले प्रदेश सरकारले स्वास्थ्य प्राविधिक नै आफ्ना नजिकका पठाउने काम गरेको दोषारोपण गर्दै सबैको साझा अभिभावक बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । नेता शाहीले राष्ट्रियतक बचाउने सवालमा कर्णाली प्रदेश सरकारले संकल्प प्रस्ताव गर्न सुझाउनुभयो ।

नेकपा कर्णाली प्रदेशका सहईञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले कोरोना महामारीको संकटसँग जुध्ने बलियो योजना मुलुकभरि नै नभएको भन्दै यसमा झन् कर्णाली प्रदेश सरकारले संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिनुभयो “निर्णय मात्र होइन, तिनको कार्यान्वयन गर्नुस्,” नेता कँडेलले भन्नुभयो, “अन्तत काम गरेर देखाएपछि हिजो प्रधानमन्त्री कै विरुद्धमा बोल्नेहरु आज उहाँकै तारिफ गर्ने बेला पनि त आउँदो रहेछ त ।”

नेता कँडेले कोरोनाको यो महामारीमा परिस्थिति विषम् भएपनि काम नियमित गर्न सरकारलाई सुझाउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सीमित साधन र स्रोतका विषयमा ध्यानाकर्षण गराउँदै उहाँले राहत र विपद्का नाममा बजेट बाँड्दै जाँदा ढुकुटी रित्तिने विषमा हेक्का राख्न सरकारलाई अनुरोध गर्नुभयो । लकडाउनकै समयमा आवश्यक सामग्रीको महंगी बढेको र यही बेला निश्चित मान्छेको सेटिङ्मा व्यापार भईरहेको उहाँको आरोप थियो ।

नेता कँडेलले क्वारेन्टाइन सञ्चालनको विधिमा ध्यान दिन भन्दै समन्वयका अभावका कारण जनताले दुःख पाएको र स्थानीय तहसँगको प्रभावकारी समन्वय बढाएर दिनहुँ कर्णालीमा आउने नागरिकहरुको लहरलाई बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । राप्रपाका प्रदेशसभा सदस्य सोशिला शाहीले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गरिने भन्दै सामाजिक दूरी कायम गरेर बस्ने कुरामा विभेद नगर्न सभामुखको ध्यानाकर्षण गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि १२ गते दिउसो ३ः०० बजे बस्ने सभामुख शाहीले जानकारी दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्