२१ माघ २०८१, सोमबार
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुले बदलिएर देखाउनुपर्ने सुझाव दिनुभएको छ ।
ऋति फाउण्डेसनद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नीति र शासनमा युवा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भएपनि आफै बदलिएर देखाउने काम जटिल भएको बताउनुभयो । उहाँले युवाहरुलाई आफै बदलिएर सभ्य समाज निर्माणका लागि उत्कृष्ट उदाहरण पेश गर्नसमेत सुझाव दिनुभयो ।
राजनीतिप्रति अपनत्व बढाउन युवाहरुलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । अब यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीति नै देशको मूल नीति भएकोले यसलाई घृणा होइन, सही ढंगले उपयोग गर्नुपर्दछ । पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्ने खालका अभिव्यक्ति आउने गरेकोले अब उपरान्त राजनीति र दललाई गाली गर्नुभन्दा सुधार गर्ने बाटोमा युवाहरु लाग्नुपर्दछ ।”
बाहुबली र खानदानको आधारमा राजनीति गर्ने र जनप्रतिनिधि हुने जमाना समाप्त भएको टिप्पणी गर्दै उहाँले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफै पाखा लागेर जाने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो जस्तो बाहुबली र खानदानको आधार राजनीतिमा स्थापित हुने चलन गैसक्यो । तपाईहरुले उत्कृष्ट काम देखाउनुस् स्थापित हुन गाहे छैन ।”
राजनीतिमा लागेर धन दौलत कमाउनेलाई विस्थापित गरेर समाज रुपान्तरणको यात्रामा लाग्न सुझाउनुभएका मुख्यमन्त्री कँडेलले नीति र शासनको बारेमा बुझेपछि धेरै भ्रमहरु हटेको र राजनीतिप्रति युवा आर्कषण बढेको अनुभव सुनाउनुभयो । आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले जनप्रतिनिधिमूलक सस्था प्रदेशसभाका काम कारवाहीमा प्रदेशसभा सदस्यहरुलाई सहजीकरण गर्दै युवाहरुले उत्प्रेरकको काममा योगदान दिने बताउनुभयो ।