

८ माघ २०८१, बुधबार
कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा युवा महोत्सव गर्ने तयारी थालिएको छ । परिवर्तनका लागि युवा संस्थाले यही माघ ११–१२ गतेसम्म महोत्सव सञ्चालन गर्ने तयारी थालेको हो ।
सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष हिमाल विष्टले रोजगारीका अभाव खेपिरहेका र विदेश पलायन भइरहेका युवाहरुमा आशा जगाउने र उनीहरुलाई देशमै रोक्ने उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको बताउनुभयो । “हामीले राष्ट्रिय युवा परिषद् नेपालसँग समन्वय गरेका छौं,” उहाँले भन्नुभयो, “वीरेन्द्रनगरको सिटी हलमा आयोजित महोत्सव परामर्श र उत्प्रेरणामूलक हुनेछ ।”
उक्त संस्थाका सल्लाहकार भूपेन्द्रजंग शाहीले युवाहरु सबैलाई एउटै मञ्चमा ल्याएर उनीहरुलाई आफ्ना कुरा राख्न दिने अरुले सुन्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार यसले उनीहरुमा मुलुकप्रतिको जिम्मेवारी, आशा र क्षमता बढाउन सहयोग पुग्नेछ ।