जुम्ला — जुम्ला सदरमुकाम खलंगास्थित नेपाली सेनाको टुँडिखेल मैदानमा आगलागीबाट बच्ने उपाय समेटिएको कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुख्खा समय सुरु हुने भएकोले सबैभन्दा बढी आगजनीको त्रास हुने गरेको छ ।
प्रदर्शनीमा ग्यासबाट लाग्ने आगो नियन्त्रण, घर तथा निजी आवासमा हुने आगलागी नियन्त्रण, वनजंगल तथा घाँसेमैदानमा हुने आगो नियन्त्रण र शरीरमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नमुना प्रदर्शनी गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले आगो निभाउन गर्नुपर्ने काम प्रदर्शनीका माध्यमबाट देखाएका थिए । आगो नियन्त्रणबारेमा नेपाली सेना, ग्यासबाट आगो लाग्दा कसरी निभाउने भन्ने विषयमा सशस्त्र प्रहरी र वनजंगलमा आगो लाग्दा नियन्त्रण गर्ने बारेमा नेपाल प्रहरी नमुना देखाएका थिए । आगो लाग्दा आत्तिन नहुने र घरबाहिर निस्कने तरिकादेखि घाइतेको उद्धारसम्मका अभ्यास गरिएको थियो । चन्दननाथ नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि सुरक्षा निकायहरुको सहयोग तथा समन्वयमा प्रदर्शनी गरिएको छ ।
जुम्लामा सबैभन्दा बढी आगलागीका घटना भइरहने भएकोले सचेतना आवश्यक देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गत वर्ष १६ वटा आगलागीका घटना भएकोमा चालु आर्थिक वर्षको हालसम्म ४ वटा आगलागीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।