OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २, २०८१
३२९ पटक

२ माघ २०८१, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सात प्रदेशभन्दा कर्णाली भूकम्पको उच्च जोखिममा रहेको बताउनुभएको छ ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित २७औं भूकम्प सुरक्षा दिवस–२०८१ को अवसरमा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याङ्कले यो प्रदेश भूकम्पीय उच्च जोखिम रहेको बताउनुभयो ।

“प्राकृतिक विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उहाँले भन्नुभयो, “यसबाट जोगिन हरेक सरोकारवालाहरुको जिम्मेवारी उत्तिकै छ । कार्यक्रममा बस्दा महसुस गर्ने तर व्यवहारिक जीवन आफ्नो दायित्व पुरा गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हुने भएकोले यसमा गम्भीर जरुरी छ ।”

जाजरकोट भूकम्पका प्रभावितहरुको पुनः निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु.५० करोड बजेट विनियोजन गरेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । यद्यपि पुनः निर्माण प्रमाणीकरण भएका तथ्याङ्कका आधारमा गरिनुपर्ने र त्यसका लागि जाजरकोटका साथै सल्यानका लागि बोलपत्र आह्वान भइसकेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँग सँगसँगै हिड्न सुझाउनुभयो । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्पीय जोखिमबाट बच्ने संरचना निर्माण गर्ने सन्देश प्रवाह गर्ने ध्येयले प्रदेश सरकारले दिवस मनाउँदै आएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिम भएकोले पूर्वतयारी र प्रभावकारी खोजमा जोड दिनुपर्ने बताउनुभयो । दिवसमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले विसं.२०७२ को भूकम्प पछिको सिकाई, विसं.२०८० भूकम्पपछिको पुनःनिर्माण र कर्णाली प्रदेशको भूकम्पीय जोखिको अवस्थाका, विकास साझेदारका तर्फबाट आवास विषयगत क्षेत्रका बारेमा नितु खनाल र विनोद खडकाले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्