OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
प्रकाश अधिकारीजेठ १०, २०७७सुर्खेत
५६१ पटक

सुर्खेत, १० जेठ २०७७, शनिबार

दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि शुक्रबार कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो । सङ्क्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उहाँलाई सो अस्पताल ल्याइएको हो । त्यसअघि युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो ।

प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार सङ्क्रमित युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । कर्णालीको पहिलो कोरोना सङ्क्रमित उहाँले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताउनुभयो । ‘चिकित्सकहरूले राम्रो उपचार हुन्छ, नआत्तिनुस्, तपाईंलाई सुर्खेत लैजाँदैछौँ भनेर एम्बुलेन्समा बसाल्नुभो’, उहाँले दुखेसो पोख्नुभयो, ‘कोरोना पोजेटिभ भएको सुन्दा मलाई त्यति दुःख लागेन, बरु प्रदेश अस्पतालमा लैजाने भनेर जङ्गलको बीचमा रहेको विद्यालयमा राख्दा साह्रै मन दुख्यो ।’

उहाँलाई विद्यालयको हलमा राखियो । तीन नर्स र एक चिकित्सक अर्को भवनको कोठामा बस्थे । श्यया र एउटा थर्मो्मिटरबाहेक अरु केही थिएन । विद्यालयको आइसोलेसनमा रहँदाको अनुभव सुनाउँदै भन्नुभयो, ‘क्वारेन्टिनबाट नारायण नगरपालिकाको विद्यालयमा ल्याएको दिन रक्तचाप र ज्वरो नापियो, नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर, तर फर्केर कोही आएनन्, त्रासैत्रासमा बसेँ, बेला–बेलामा आफैँ ज्वरो नापेर नर्सलाई फोन गरी जानकारी दिन्थेँ ।’

परिवार अत्तालिएका छन्, अब बाँच्दैन कि भनेर । ‘मलाई केही हुँदैन भन्छु, तर भित्रभित्रै आफैँलाई भने डर लागिरहेको छ । मलाई अस्पताल नलगी यतै स्कूलमै राखेर मार्ने त होइनन् भन्ने मनमा लागिरहन्थ्यो’, टेलिफोनमा उहाँले भन्नुभयो, ‘जब हिजोमात्रै सुर्खेत आइयो, त्यसपछि बाँचिन्छ होला भन्ने अलि आँट आएको छ ।’

सङ्क्रमण पत्ता लागेपछि अस्पतालमा राखेर उपचार गर्नुका साटो उल्टै तनाव दिएको उहाँको गुनासो छ । आफू पहुँचविहीन दलित समुदायको भएकाले उपचारमा बेवास्ता गरिएको उहाँको बुझाइ छ । यही जेठ ३ गते प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको प्रयोगशालाको टिमले युवासहित सात्तला लक्ष्मी मावि क्वारेन्टिनमा रहेका ३९ जनाको स्वाब सङ्कलन गरेको थियो । जेठ ५ गते पिसीआर परीक्षणमा उहाँको नतिजा पोजेटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस्