

२५ पुस २०८१, बिहीबार
नेपाली काँग्रेस सल्यान र बाँकेका नेताहरुको संयुक्त टोलीले सल्यान–बाँके जोड्ने बिपी मार्ग निर्माणका लागि संयुक्त दबाब दिन पहल थालेका छन् ।
यही पुस २३ र २४ गते पर्न गएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा उक्त टोलीले केन्द्र तथा प्रदेश सरकारलाई दबाब दिनका लागि पहल थालेको हो । नेपाली काँग्रेस सल्यान क्षेत्र नं. २ का क्षेत्रिय सभापति सुरेश अधिकारीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाले सुरु गर्नुभएको उक्त बाटो अहिलेसम्म निर्माण हुन नसकेपछि सरकारलाई दबाब दिन पहल थालिएको बताउनुभयो ।
“बिपी प्रधानमन्त्री हुँदा सुरु गरेको उक्त बाटो ६६ वर्षसम्म बन्न नसकेर ओझेलमा परेको छ,” उहाँले भन्नुभयो, “पञ्चायत, बहुदल हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दासमेत त्यसको निर्माण हुन नसक्नु दुर्भाग्य हो ।” नेपाली काँग्रेसको संस्थापक सभापति कोईरालाको नामबाट नामाङ्करण गरिएको ऐतिहासिक बिपी मार्ग बन्नु नसक्नु राष्ट्रिय लज्जाको विषय भएको काँग्रेस नेताहरु बताउँछन् ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहनुभएका अधिकारीका अनुसार सल्यान–बाँके जोड्ने बिपी मार्ग ९७ किलोमिटर दूरी छ । विसं.२०१५ सालमा बिपी प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि अन्योलमा परेको सो मार्ग निर्माणका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे र पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीको सयुक्त नेतृत्वमा केन्द्र तथा प्रदेश सरकारलाई बजेटको व्यवस्था गर्न दबाब सिर्जना गर्ने योजना बनाईएको हो ।
पूर्व केन्द्रीय सदस्य रेग्मीका अनुसार लामो समयदेखि काँगे्रस सत्तामा पुगेको छ र अहिले पनि काँग्रेस सरकारमै छ । बिडम्बना ! काँग्रेस पार्टीका संस्थापक सभापति तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीले कर्णाली जोड्ने उद्देश्य राखेर रेखाङ्कन गरेको यो मार्ग करिब ६६ वर्षसम्म बन्न सकेको छैन । यसले हालको काँग्रेस नेतृत्व र पार्टी स्वयंलाई नै ऐतिहासिक बिरासत बोकेको आफ्नै संस्थापक नेतृत्वप्रति बेखबर छ भन्ने देखाएको छ ।
दाङ तुल्सीपुर–कालीमाटी हुँदै सुर्खेत जोड्ने करिब ७० किलोमिटर बाटोले महत्व पाउँदा कालोपत्र भइसकेको छ । अब भने केन्द्रीय सदस्यद्वय घिमिरे र रेग्मी नेतृत्वको संयुक्त टोलीले खलंगा–कालीमाटी–रामपुर हुँदै नेपालगञ्ज जोड्ने बिपी मार्ग निर्माणका लागि केन्द्र र प्रदेश दुवै सरकारलाई दबाब दिने भएको छ । उक्त टोलीमा नेपाली काँग्रेस बाँके जिल्ला सभापति नारायण गौडेल र बाँके क्षेत्र नं.१ क्षेत्रीय सभापति पोषण केसीसमेत रहने जनाइएको छ ।