१७ पुस २०८१, बुधबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न इसाई समुदायलाई आग्रह गर्नुभएको छ ।
ईसाई समाज वीरेन्द्रनगर समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘अंग्रेजी नयाँ वर्ष २०२५ तथा ख्रीष्टमस बडादिनको शुभकामना आदानप्रदान कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले हरेक धर्ममा रहेको विश्वास र मान्यतालाई ज्ञानविज्ञानसँग जोड्न सकेमात्र मुलुकको विकास, प्रगति र समृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वासलाई उद्यमशीलतामा जोड्न सकियो भने हाम्रो अवस्था बदलिन सक्छ ।”
विसं.२००७ सालदेखि धर्म र राज्य कस्तो हुने भन्ने छलफल चलिआएको तथापि नेपालको संविधान २०७२ ले राज्य धर्मनिरपेक्ष हुने व्यवस्था गरिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलका अनुसार राज्य थोरै धेरै, बलियो, कमजोर सबैको भएकोले समाजमा वितृष्णा, घृणा र द्वेष पैदा हुने गतिविधि कसैले गर्न हुँदैन ।
विविधतायुक्त समाजमा एकता भएको देश नेपाल मात्र भएको उहाँले जिकिर गर्दै उहाँले सबै तहका सरकार सबैको अभिभावक भएर अगाडि बढ्नुपर्ने संवैधानिक मान्यता स्थापित भएको जनाउनुभयो । संविधानले व्यवस्था गरेबमोजिम नागरिकका अधिकार प्राप्त हुन नसक्नुले मुलुक आर्थिक रुपले सबल नभएको उहाँको भनाई थियो ।
मान्छेको विवशता र बाध्यतालाई आधार बनाएर संख्या बढाउने तिर कोही कसैलाई नलाग्न अनुरोध गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “इसाई समाज भित्र पनि टोलैपिच्छे मण्डली स्थापना गर्ने भन्दा पनि सबै एकतामा गएर एउटा संस्था बनाउनुस् । सबैलाई हेर्न लायक पर्यटकीयस्थल निर्माण गर्नुस् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपछि मुलुक धर्मनिरपेक्ष भएकोले आज इसाईहरुजस्तै सबैका अधिकार नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको बताउनुभयो । संविधान संशोधनका नाममा धर्मनिरपेक्षता, समावेशिता संकुचित हुने कुरामा सबैले ख्याल गर्नुपर्ने उहाँको भनाई थियो ।
कर्णाली प्रदेशसभा सदस्य बलिमाया बुढाले हरेकले चरित्र सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । इसाई समाज सुर्खेतका सल्लाहकार सलोमान गुरुङले यशुख्रीष्टमा प्रेम, शान्ति, मेलमिलाप र एकता भएको तर्क गर्नुभयो । समाजका सुर्खेत अध्यक्ष रेभ.पास्टर पदम गैरेले यशुख्रीष्टमा शान्ति, जीवन र मुलुकको समृद्धि जोडिएको बताउनुभयो । कार्यक्रममा बृहत शान्ति र्याली गर्नुका साथै विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।