१३ पुस २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं स्थायी कमिटि सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक आर्थिक संकटको खतरामा रहेको बताउनुभएको छ ।
नेकपा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले आर्थिक हिसाबले अहिले मुलुक प्रशासनिक एवं साधारण खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । “अहिले हामीसँग २६ अर्ब ऋण छ,” उहाँले भन्नुभयो, “तीन करोड नेपालीहरुमा आजै जन्मने प्रत्येक नेपालीले रु.८४ हजार ऋण भारी बोक्नुपरेको छ ।”
नेपालमा सामन्तवादको अन्त्य भएपनि नेपाली जनतालाई शक्तिमा ल्याउन नसकिएको स्वीकार्दै उहाँले देश पूँजीपति दलालहरुको हातमा पर्दा संकटको खतरामा पुगेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “दैनिक २४ घण्टामा १८ घण्टा काम गर्ने श्रमजीविहरु समस्यामा छन् तर दुई घण्टा दलाली गर्नेहरु मालामाल भइरहेका छन् । अब देशलाई समस्याको माखेसाङ्लोबाट बाहिर ल्याउनुछ र जनताप्रति वफादार नेतृत्व जन्माउनु छ ।”
दलालहरुको हातमा परेको देशलाई संकटको खतराबाट मुक्त गर्न र व्याप्त समस्या हल गर्न राष्ट्रिय सहमति आवश्यक रहेको औंल्याउँदै प्रवक्ता प्रकाण्डले आगामी ०८४ को निर्वाचन सामना गर्न सहभागी हुने बताउनुभयो । जनताको निराशाको उपज रविहरुको आगमन भएको यद्यपि बाध्यात्मक अवस्थाबाट जनतालाई निकास दिन क्रान्तिको बाटो रोज्नुपरेको उहाँको भनाई थियो ।
जनयुद्धबाट आजको संविधान र व्यवस्था आएको दावी गर्नुभएका प्रवक्ता प्रकाण्डले राज्यले आफूहरुलाई लगाएको मुद्दामा अदालतमा नजाने बरु त्यसको खुलेरै सामना गर्ने भन्दै सरकारलाई मनोगत एवं मुर्ख नहुन चेतवानी दिनुभयो । युवाहरुलाई वैदेसिक रोजगारका लागि विज्ञापन नगर्न, मुलुकमा व्याप्त भ्रष्टाचार, महंगी, कमिसनलगायतका समस्याहरुका विरुद्ध जनताको पक्षमा केन्द्रित भएर कलम चलाउन उहाँले पत्रकार सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।