OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ११, २०८१
२७४ पटक

 

११ पुस २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरुको योगदान र भूमिकालाई कदर गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण समेत बदल्नुपर्नेमा जोड दिनुभयो । ‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नारासहित वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुर्खेत वीरेन्द्रनगमा आज आयोजित ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मूल समारोहको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जेठो पुस्तालाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

“ज्येष्ठ नागरिकहरुको योगदानका कारण हाम्रो समाज आजको सूचना र प्रविधिको यो युगमा आईपुगेको छ,” उहाँले भन्नुभयो, “बरु उहाँहरुको सीप, कला र सिर्जनाको पुस्तान्तरण तथा भोगाई र अनुभव सुन्न र ग्रहण गर्न आवश्यक छ ।” यो धर्तीमा जन्मने हरेकले ज्येष्ठ हुनै पर्ने अवस्थालाई हृदयगम गरी आजका ज्येष्ठ नागरिकहरुको योगदान र भूमिकालाई कदर गर्नैपर्ने उहाँको भनाई थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकीय भूमिका खेल्ने कुरामा नचुक्ने बताउनुभयो । उहाँहरुको कदर, सम्मान र हौसलाका लागि पालिकाले ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मनाउन सघाएको प्रमुख ढकालको भनाई थियो ।

महिला ज्येष्ठ नागरिक ९६ वर्षीय रामकली थारुले सरकारले आफ्नो आयु बढ्ने काममा सहयोग पुर्याएको बताउनुभयो । पुरुष ज्येष्ठ नागरिक ९६ वर्षीय भक्तबहादुर गुरुङले ज्येष्ठ नागरिकप्रति परिवारले गर्ने व्यवहारबाबारे कार्यक्रमले सहि सन्देश दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, ९१ वर्षीय श्रीप्रसाद ढकालले सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेर हौसला बढाएको प्रतिक्रिया दिनुभयो । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका वडाध्यक्ष टिकाराम शर्मालाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्