OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १९, २०८१
३४० पटक

 १९ मंसिर, २०८१, बुधबार

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सुर्खेतदेखि कर्णालीका हिमाली जिल्लामा उडान भर्ने एयरलायन्स कम्पनी तथा ट्राभल्स एजेन्सीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुने बताउनुभएको छ ।

तारा एयलायन्सले आज सुर्खेतदेखि हिमाली जिल्ला हुम्ला, मुगु र जुम्लाको हवाई यातायात सुचारुका लागि आज सुर्खेत विमानस्थलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले आफू मन्त्री भएकै दिन हिमाली जिल्लामा हवाई यातायात सेवा सुचारुका लागि गरेको प्रतिबद्धतालाई पूर्णता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा प्रदायकहरुलाई हामी घाटा हुन दिन्नौं । प्रदेश सरकारको यसमा पूर्ण सहयोग हुन्छ ।

उहाँका अनुसार तत्कालीन् मुख्यमन्त्री जीवनबहादुर शाहीले सुरुवात गर्न खोजेको योजना कार्यान्वयनमा आएको छ । यात्रुको चाप हेरेर दैनिक उडान भर्ने योजनामा समेत प्रदेश सरकार रहेको बताउँदै मन्त्री अधिकारीले नागरिक सेवाका लागि सबै क्षेत्रको उत्तिकै भूमिका रहेको बताउनुभयो । हिमाली जिल्लाको यात्रालाई सहज बनाउन विशेष भूमिका खेलेको भन्दै उहाँले हिमाली टुर्स एण्ड ट्राभल्स प्रा.लि.लाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तारा एयरका चालक सन्तोष शाहले हिमाली जिल्लामा जोड्ने गरी प्रदेश सरकारले राम्रो पहल गरेको टिप्पणी गर्नुभयो । प्रा.लिका प्रबन्ध निर्देशक मीन रावलले लामो समयको प्रयासपछि जोखिम मोलेर हवाई यातायात सेवाको जिम्मा लिएको बताउनुभयो । “हामीले घाटा नाफा भन्दा पनि नागरिकको सेवालाई प्रधान बनाएका छौं,” निर्देशक रावलले भन्नुभयो, “१६–१८ बोक्ने यात्रु उक्त एयरलायन्सले पहिलो चरणमा हप्तामा बुधबार र शनिबार उडान भर्नेछ ।”

उहाँका अनुसार हुम्ला जाने यात्रुले प्रतिव्यक्ति रु.आठ हजार, मुगु तथा जुम्ला जानका लागि रु.छ हजार पाँच सय भाडा तिर्नुपर्नेछ । मुगुका लागि हवाई यातायात सुरु हुनुले निकै खुसी तुल्याएको मुगुका स्थानीय प्रदीप बुढाले बताउनुभयो । उहाँका अनुसार कुनै आपतविपतमा वा उपचारका लागि तल झर्न अब मुगुका जनताले हवाई सेवा नपाएर सास्ती व्यहोर्नुपर्ने छैन ।

प्रतिकृया दिनुहोस्