१ मंसिर २०८१, शनिबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक संभावनाको क्षेत्र भएको बताउनुभएको छ ।
उद्योग बाणिज्य संघ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१औं साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान कृषि, पर्यटन, जल, जंगल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त संभावनाको स्रोत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुगु रारालाई सिरान राखेर कर्णाली करिडोर र डोल्पाको शे–फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोरमार्फत धेरै भन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।”
उहाँका अनुसार हुम्लाको खार्पुनाथ नदीमा मात्र बेलिब्रिज जोड्न सके तीन÷चार महिनामा सुर्खेतदेखि हिल्सासम्म एउटै गाडीबाट पुग्न सकिने अवस्था छ । हराउने खालको नभई देखिने तीन क्षेत्रः कृषि, पर्यटन र लघु घरेलु उद्योगहरुमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरीको सोचमा प्रदेश सरकार आगामी वर्षदेखि योजनावद्ध ढंगल अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट लगानी गरी आर्थिक विकास गर्न सकिने उहाँको भनाई थियो ।
मगन्तेका रुपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर–सुर्खेत, दुई लेनको सुर्खेत–हिल्सा, सुर्खेत–डोल्पा, गमगढी–सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनःनिर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी संघीय सरकारसँग भइरहेको जिकिर गर्दै उहाँले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने मेहनत, प्रयत्न गरेको जनाउनुभयो ।
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग बाणिज्य संघको प्रतिवेदनमा समाविष्ट विषयहरु प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्री कँडेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिनुभयो ।
प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पुरा गर्नुस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उहाँले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सरकार, नीजि क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उहाँको भनाई थियो । उक्त साधारणसभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उद्योगी, व्यवसायी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।