OnlinePana

आज : २०८१ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २१, २०८१
९७ पटक

 २१ कार्तिक २०८१, बुधबार

कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न साँस्कृतिक कन्सर्टको तयारी थालिएको छ ।

पछिल्लो समयमा उर्जाशील युवाहरुको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनका लागि साँस्कृतिक युवालय संस्थाले त्यसको पहल थालेको हो । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तरगत बिहीबार दिउसो १ बजे राजधानी सुर्खेत वीरेन्द्रनगरको सिटी हलमा मौलिक बाजा, कला र साँस्कृतिक प्रस्तुतिसहित साँस्कृतिक कन्सर्ट सञ्चालन हुने पत्रकार भेटघाटमार्फत् परियोजना अधिकृत पूजा कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रममा परियोजनासँग जोडिएर युवाहरुले लिएका कक्षामा सिकेका नृत्य तथा संगीत सबै सामु प्रस्तुत हुने जनाउँदै उहाँले परियोजनाबाट कक्षा लिइरहेका युवाहरुले कन्सर्टमा मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्यका साथै संगीतमा पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा) पनि बजाएर सबै साम देखाइने बताउनुभयो ।

उहाँका अनुसार स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सुर्खेतसँगको सहकार्य तथा कोरियाको वाईजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोगमा मौलिक बाजा, संगीत एवं नृत्यमा युवाहरुलाई अग्रसर गराउन सो सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

युवाहरुले सिकेका सीप कला आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकुन्, मौलिक कला र सस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले बताएको छ ।

परियोजनामार्फत दैलेख (भगवतीमाई गाँउपालिका र डुङ्गेश्वर गाँउपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदुरपश्चिमको (लम्कीचुहा नगरपालिका)मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामुहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तिय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्