

कार्तिक १० गते । जुम्लाको सिञ्जामा नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ जुम्लाका स्वतन्त्र निर्वाचित वडाध्यक्ष धनबहादुर कामी, वडा सदस्य चनाखी कुलाला, गोलो दमाई सहित ३७२ जना स्वतन्त्र व्यक्तिहरु माओवादीमा प्रवेश गरेका छन् ।
माओवादीमा प्रवेश गर्नेहरु ३७२ जना स्वतन्त्रसहित ८८ जना नेकपा एमाले, ४१ जना नेपाली कांग्रेसबाट, २० जना पूर्व माओवादी केन्दबाट फर्किएका छन् । यसैगरी १२ जना एकिकृत समाजवादीबाट, नेमकिपाबाट २ जना, नेकपा बिप्लवबाट ३ माओवादीमा प्रवेश गरेका छन् ।
यसैगरी जुम्ला कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदाय एक भएर स्वतन्त्र उम्मेदवारी दिई बिजयी हाशिल गरेको वडामा वडाध्यक्ष र २ सदस्य सहित सयौ संख्यामा दलित समुदाय माओवादी केन्द्रमा प्रवेश भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वडाध्यक्ष धनबहादुर कामी, साविक नेकपा माओवादीका नेता तथा नेकपा एमालेका पूर्व प्रदेश कमिटि सदस्य राजबहादुर खत्री सहितका विभिन्न पार्टीमा रहेका व्यक्तिलाई स्वागत गर्नु भएको थियाे ।
नेकपा माओवादी केन्द्र जुम्लाका पार्टी संयोजक नवराज न्यौपानेका अनुसार स्वतन्त्र ३७२ जना पनि दलित समुदायका नेता तथा मतदाताहरु रहेका छन् । विभिन्न पार्टी आवद्ध २०७९ सालको निर्वाचनमा दलित समुदाय एकमत भई स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । पार्टी संयोजक न्यौपानेका अनुसार स्वतन्त्रबाट माओवादीमा प्रवेश भएका ३७२ मध्य साविक १०२ जना नेपाली कांग्रेस, ६२ जना नेकपा एमाले, ८४ जना साविक माओवादी, नेमकिपा साविक ३९ जना, नेकपा विप्लव ३६ जना, एकिकृत समाजवादी ३५ जना र स्वतन्त्र १४ जना रहेका छन् ।
कनकासुन्दरीको गोरु चौरमा आयोजित जनससभामा दलित समुदाय एक भएर जितेका वडाध्यक्ष धनबहादुरले दलित समुदायको विकास र समृद्धिका लागि माओवादीबाट सम्भव भएकाले आफुहरु माओवादीमा समयोजन भएको प्रतिक्रिया दिनुभयो । उहाँले हामी स्थानीय स्तरमा एक त भयौ तर हाम्रो केन्द्रमा पहुँच पुरयाउन आवश्यक रहेको बताउनुभयो ।