OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २२, २०८१
२५३ पटक

 

२२ असोज २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सबै धार्मिक समुदायका युवाहरु कर्णालीको विकासमा जोडिनुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश इसाई एकता सञ्जाल समिति र सुर्खेत इसाई समाजद्वारा आयोजित तीन दिने ‘संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन’मा मुख्यमन्त्री कडेलले यस्तो बताउनुभएको हो । उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले संविधानले सबै जाति,भाषा र धार्मिक समुदायको अधिकारको प्रत्याभुति गरेकोले कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिले गरेको जागृति शिखर सम्मेलनप्रति आफू सकारात्मक रहेको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश, प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको र कर्णाली प्रदेशको सुन्दरता अझै देशलाई चिनाउन नसकेकोले कर्णाली प्रदेशको विकासमा सबै धार्मिक समुदाय जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजका युवाहरु भोलिका कर्णधारमात्र होइनन्, युवाहरु आजका विकासका हकदार पनि हुन् । त्यसकारण सबै युवाहरु कर्णाली विकासमा जोडिएर कर्णाली प्रदेशलाई विकट र पिछडिएको समुदाय बस्ने प्रदेश होइन, प्राकृतिक र साँस्कृतिक रुपमा धनी प्रदेशको रुपमा चिनाउनुपर्छ ।”

त्यसैगरी आयोजित शिखर सम्मेलन उद्घाटन समारोहका सभाध्यक्ष तथा कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिका अध्यक्ष पास्टर पदम गैरेले आमन्त्रित सबै अतिथिहरुलाई धन्यवाद दिदै ख्रीष्टियन युवाहरु आत्मिक जागृतिका साथ कर्णाली बिकासमा जोडिनुपर्ने बताउनुभयो ।

अध्यक्ष गैरेले नेपालको संविधान २०७२ ले सबै धार्मिक समुदायको सामान अधिकारको सुनिश्चितता गरेतापनि कतिपय ठाउँमा ख्रीष्टियन धार्मिक समुदायको आस्थामा आक्रमण हुन लागेकोले आफूलाई दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश प्राकृतिक र साँस्कृतिक रुपले धनी छ, हामी सबै जाति, भाषा र धर्ममा आस्था राख्ने समुदायहरु मिलेर बसेका छौँ । त्यसैले हामी सबै मिलेर कर्णाली प्रदेशको हितमा काम गर्नुपर्छ । ख्रीष्टियन युवाहरु अझ बढी सक्रिय रुपमा बिकासमा जोडिनुपर्छ ।”

कर्णाली प्रदेशको दश जिल्लामा स्थापना भएका विभिन्न चर्चबाट सहभागी हुनेगरी आयोजना गरेको शिखर सम्मेलनम करिब चार हजारको संख्यामा युवाहरुको सहभागिता भएको कर्णाली प्रदेश इसाई एकता सञ्जाल समितिले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्