OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
विजय रावत जेठ ८, २०७७जुम्ला
६६२ पटक

जेठ ८ गते । लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ति आयोजना सञ्चालनमा आउने भएका हुन् ।

लकडाउनका कारण रोकिएका यहाँका ठूला १८ वटा विकासे आयोजनाको निर्माणको काम सञ्चालनमा गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो ।’

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो । व्यवसायीले निर्माणकार्य अघि बढाउन सम्बन्धित कार्यालय मार्फत जिल्ला प्रशासनलाई अनुरोध गरे अनुसार अनुमति दिइएको र लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थप्नुभयो ।
जिल्लाका सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति मागे पनि अति आवश्यक र आर्थिक वर्षभित्रमा सम्पन्न हुने योजना बाहेक अरु योजनाको निर्माणका लागि अनुमति दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयबाट अनुमति प्राप्त भएपछि नाग्म–रारा सडकको निर्माण कार्य सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका काम ठप्प छन् ।

प्रतिकृया दिनुहोस्