OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १०, २०८१
२९१ पटक

१० असोज २०८१, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

चिङ्गाड गाउँपालिका ५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज समुद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ,” उहाँले भन्नुभयो, “यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।”

स्वास्थ्यमा थोरै मात्रको हेलचक्र्याईले नागरिकको जीवन जोखिममा पर्ने सक्ने भएकोले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकोले यहाँका स्थानीयहरुलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाँउमा उभिन सके छिटो र सहजरुपमा विकास गर्न सकिने भन्दै उहाँले आफ्नो गाँउ ठाँउलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाँउमा आउनु पर्दछ ।”

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको बताउनुभएका मुख्यमन्त्री कँडेलले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिदै जाने दावी गर्नुभयो । संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका आयोजना प्रमुख कमल कुमार दर्लामीका अनुसार रु.तीन ६२ लाख नौ हजार नौसय ५१ लागतकाे सम्झाैता रकममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।

प्रतिकृया दिनुहोस्