OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ७, २०७७सुर्खेत
६७४ पटक

सुर्खेत, ७ जेठ २०७७ : कर्णाली प्रदेश सरकारलाई युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा स्वास्थ्यलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिएको छ । कर्णाली प्रदेशको बबई नाकामा जाँच गर्न तथा छिन्चुमा स्क्रिनिङ सेन्टरका लागि एक सय नागरिकलाई पुग्नेगरी आवश्यक स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री सहयोग गरिएको युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालय प्रमुख दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

“मूलतः कोरोना भाइरसको यो संकटको बेला नागरिकहरुको सुरक्षार्थ खटिने राष्ट्रसेवकहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छौं,” प्रमुख श्रेष्ठले भन्नुभयो, “अर्को भारतलगायत विभिन्न ठाउँबाट अलपत्र परेर कर्णाली पुगेका नागरिकहरुको स्क्रिनिङ, आरडिटी गर्ने क्रममा बस्नुपर्ने अवस्थाका एकसय नागरिकलाई पुग्नेगरी एक÷एक सयको संख्यामा पाल, टेन्ट, कम्बल, झुल, बाल्टी, पानी, पि–फमलगायतका सामग्री उपलब्ध गराएका छौं ।”

यता कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले मन्त्रालयको समन्वय, युनिसेफको सहयोग तथा साझेदार संस्था सुन्दर नेपालको सहजीकरण स्वास्थ्यलगायत बन्दोबस्तीका सामग्री उपलब्ध भएको जानकारी दिनुभयो । युनिसेफ नेपालले प्रदेश सरकारलाई गरेको सहयोगबाट विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको नोबेल कोरोना भाइरसको जोखिम प्रतिकार्य, रोकथाम तथा न्यूनिकरणमा टेवा पुग्ने सूचना अधिकारी रोकायले बताउनुभयो ।

सुन्दर नेपाल केन्द्रीय कार्यालय सुर्खेतका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले विपद् प्रतिकार्य, रोकथाम तथा न्यूनिकरणमा केन्द्रित भएर प्रदेश सरकारमार्फत नागरिकहरुको सुरक्षार्थ आवश्यक स्वास्थ्यसहित अन्य सामग्रीसमेत उपलब्ध गराईएको बताउनुभयो । कार्यकारी निर्देशक कँडेलका अनुसार उपलब्ध गराईएका सामग्रीहरुमा पि–फम दुई हजार ५०० मिटर, सर्जिकल मास्क दुई हजार थान, ग्लोब्स आठ सय थान, एक थान स्प्रेयरसहित २५ केजी क्लोरिन, स्यानिटाइजर र एक÷एक सय सेट अन्य बन्दोबस्तीका सामग्री सहयोग गरिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनाको संकटसँग जुध्न युनिसेफ तथा साझेदार संस्था सुन्दर नेपालले सरकारसँग हातेमालो गरेको धन्यवाद प्रकट गर्नुभयो । सामाजिक विकासमन्त्री दल रावलले मनकारी संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायतका विभिन्न ठाउँबाट नागरिक आउने क्रम बढेकोले प्रदेश सरकारले स्थापना गरेको स्क्रिनिङ सेन्टर सञ्चालनमा थप सहयोग पुग्ने बताउनुभयो ।

उहाँका अनुसार भारतबाट आएका नागरिकहरुलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाईएको छ । यससँगै बाहिरबाट आउनेलाई आरडिटी, पिसिआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टाइन, आइसोलेसन, आइसियु, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति परिचालन तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्