OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८१सुर्खेत
८० पटक

४ भदौ २०८१, मंगलबार

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।

‘नवौं कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले जनताको संघर्ष र बलिदानबाट मुलुकमा संविधान र संघीयता आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।”

ताल तलैया, हिमश्रृङ्खला, हरिया जंगल, महंगो जडीबुटी यार्सा, धार्मिक, , साँस्कृतिक, ऐतिहासिक र पुरातात्विकरुपले सम्पन्न कर्णालीलाई गरिबी, अशिक्षा, भोकमरी र अभावको गलत भाष्य दिएर चिनाउनु दुःखद् भएको उहाँको भनाई थियो । प्रदेश प्रमुख जोशीका अनुसार कृषि, प्राकृतिक,, सांस्कृतिक र साहसिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धि गर्न सकिन्छ । यसमा सरकारले जोड दिनुपर्दछ ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राजकीय जस्तो नभई जनताको प्रत्यक्ष सहभागितामा प्रदेश स्थापना तथा सहिद दिवस कार्यक्रम मनाउन सक्ने अवस्था सिर्जना गरिएमात्र संघीयताको अनुभूति हुने जनाउनुभयो । “एक÷दुईको जना होइन, हजारौं जनताको अथक प्रयासबाट कर्णाली कान्छो प्रदेशका रुपमा स्थापित भएको हो,” उहाँले भन्नुभयो, “जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिं रजवारको बलिदानीपूर्ण योगदानलाई इतिहासले कालान्तरसम्म स्मरण गरिरहने छ ।”

उहाँले चार सहिदका परिवारका एक÷एक जना सदस्यलाई रोजागर दिने गरी प्रदेश सरकारले निर्णय गरेको बताउनुभयो । सबै क्षेत्रमा सुशासन कायम, नागरिकलाई शान्ति, सुरक्षा र अधिकारको उपयोग एवं सुरक्षित गराउन सकिए सहिदको सपना पुरा हुने र जनताको संघर्ष र आन्दोलनले सार्थकता पाउने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

सीमाङ्कनको विषयलाई लिएर विसं.२०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिं रजवारको निधन भएको थियो । सहिद तथा प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले सोमबार प्रादेशिक सहिद पार्कमा पुगेर सहिदहरुको फोटोमा माल्यार्पण गर्नुभएको थियो । सहिद तथा प्रदेश स्थापनाको खुशीयालीमा कर्णालीमा दीपावली पनि गरिएको छ ।

त्यसैगरी, आजकै कार्यक्रममा कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोट स्थायी निवासी अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार राजेन्द्र कार्की, अनलाईनखबरकर्मी यज्ञबहादुर खत्री र कालीकोट निवासी तुलराम पाण्डेलाई जनही रु.५० हजारका दरले प्रदेश सरकारले नगद पुरस्कार प्रदान गरेको छ । त्यस्तै, कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा.डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट प्रदेश सरकारले सम्मान गरेको छ ।

समारोहमा नेपाली काँग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्ट, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णबहादुर जिसी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुँडामणि पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभयो । स्थापना दिवसको अवसरमा साँस्कृतिक नृत्यका साथै र्याली प्रदर्शनका थियो ।

 

प्रतिकृया दिनुहोस्