

साउन ३२ गते । बालअधिकार बिषयमा हरेक स्थानीय तहले रणनिति बनाएर अगाडि बढ्ने भएका छन् ।
जिल्लामा आयोजित वालअधिकार र स्रोत पहुँच सम्बन्धी सम्वाद कार्यक्रममा स्थानीय तहले वाल अधिकार सम्वन्धी निति तथा बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् । किर्डाका नेपालद्धारा आयोजित सम्बाद कार्यक्रममा वालवालिका सवालमा स्थानीय तहमा भएका कामको बिषयमा जानकारी गराउनुका साथै बजेटको सुनिश्चितता गरेर वालवालिकाका कार्यक्रमलाई प्रथामिकतामा दिईनुपर्नेमा जोड दिईएको छ ।
घोषणा पत्रमा हरेक स्थानीयतहमा बाल कल्याण अधिकारीको व्यवस्था गर्ने, बालविवाह निषेधित वडा घोषणा गर्ने ,पालिका र जिल्ला घोषणाका लागि स्थानीयतहको नेतृत्वमा कार्यक्रम गर्ने,बाल संरक्षण नीति ,रणनीति र कार्यविधिहरु बनाउने, जोखिम अवस्थामा रहेका बालबालिकाको हितका लागि बाल कोषको स्थापना गर्ने समेत समेटिएको छ । विद्यालय छाडेका विद्यार्थीहरुका लागि आयआर्जनका कार्यक्रम ल्याउने, दिवा खाजालाई पोषणयुक्त,स्थानीय उत्पादनमय र अर्गानिक उपभोगका लागि चेकलिष्ट तयार गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।
अपांगता भएका बालबालिका घरमै पढाउने व्यवस्था मिलाउने, बालबालिकाको सिकाइ उपलब्धिमुलक गर्ने,गृह विद्यालय जस्ता कार्यक्रम प्रभावकारी बनाउने,भौतिक पुर्वाधारहरु बालमैत्री,लैगिंकमैत्री र अपांगमैत्री बनाउने र सुचनामैत्री विद्यालयहरु बनाउने देखि बालबालिकाको विद्यालय छोड्ने दर शुन्य बनाउने समेत प्रतिबद्धता जनाएको किर्डाक नेपालका संयोजक दीपराज रावतले दिनुभयो । उहाँले जिल्लामा यि सवालमा कुरा कम हुने भएकाले किर्डाक नेपालले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सम्वाद कार्यक्रम चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, महिला तथा वालवालिका कार्यालयले स्थानीय तहमा भएका गतिविधिका बिषयमा जानकारी गराएका थिए ।
सम्वाद कार्यक्रममा स्थानीय तहले रणनिति बनाउने, बजेटको सुनिश्चितता गर्ने सहितका १६ बुद्धे प्रतिवद्धता पत्र समेत जारी गरिएको छ । सम्वाद कार्यक्रममा वालवालिकाका सवालमा सुधानुपर्ने बिषयमा वालक्लवका अगुवा, अधिकारकर्मीले सरोकारवाला निकायलाई जिज्ञासा राखेका थिए । आएका जिज्ञासाका बिषयमा सरोकारवाला जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख रामदेवी खड्का, तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा, हिमा गाउँपालिका उपाध्यक्ष सुपर्ना शाही, कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढा, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, प्रहरी नायव उपरीक्षक छेदिलाल कामति, स्रोत कक्षा कर्णालीका प्रधानाध्यापक मिनराज शर्मा, जनता मावि महत गाउँका सहायक प्रधानाध्यापक जितेन्द्र महत सहितका सरोकारवाला निकायले उत्तरदायी निकायको रुपमा जबाफ दिनु भएको थियो ।